जोडिनुहोस
  • होमपेज
  • सशस्त्र प्रहरीमा पुगे ७४ जना गोताखोर

सशस्त्र प्रहरीमा पुगे ७४ जना गोताखोर

सशस्त्र प्रहरीमा तालिमप्राप्त गोताखोरको संख्या ७४ पुगेको छ । गोताखोर तालिम प्राप्त जनशक्तिलाई थप विस्तार गर्दै लैजाने उद्देश्यअनुरूप सशस्त्र प्रहरीले निरन्तररूपमा संख्या बढाउँदै लगेको हो ।

सशस्त्र प्रहरीका २५ जना कर्मचारीले यूएनडीपीको सहयोगमा पहिलोपटक ३१ वैशाख २०६९ देखि तीन महिना बंगलादेशबाट गोताखोरको तालिम लिएका थिए । उनीहरूले तालिम लिएपछि बंगलादेशबाट गोताखोर बोलाउनै पर्ने बाध्यता अन्त्य भएको थियो ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरीले ९ असोज २०७६ देखि २५ कात्तिकसम्म १९ जना सशस्त्र प्रहरी कर्मचारीलाई नेपालमा नै पहिलोपटक गोताखोर तालिम प्रदान गरेको थियो । त्यसपछि पुनः विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा २५ वैशाख २०७९ देखि सोही वर्षको २९ जेठसम्म २० जना सशस्त्र प्रहरी कर्मचारीहरूलाई गोताखोर तालिम प्रदान गरेको थियो ।

त्यसपछि थप गोताखोर तालिम प्राप्त जनशक्ति आवश्यक रहेको भन्दै १० वैशाख २०८० देखि १८ जेठसम्म गोताखोर तालिम सञ्चालन गरेको थियो । गण्डकी प्रदेश सरकारको सहयोगमा सञ्चालन गरिएको गोताखोर तालिममा सशस्त्र प्रहरी बल नेपालका १९ जना र नेपाल प्रहरीको १ जना गरी २० जनाको सहभागिता रहेको थियो । योसँगै सशस्त्र प्रहरी बल नेपालमा हाल ७४ जना गोताखोर तालिम प्राप्त जनशक्ति रहेको हो ।

पाँच साता अवधिको पछिल्लो तालिमको दौरानमा प्रशिक्षार्थीलाई चितवनको कुरिनटारस्थित त्रिशूली नदी, कास्की जिल्लाको पोखरास्थित फेवाताल र सुनसरीस्थित कोसी नदीमा अभ्यास गराइएको थियो ।

बिहीबार सम्पन्न पछिल्लो गोताखोर तालिममा सशस्त्र प्रहरी जवान गणेशबहादुर थापा प्रथम भएका छन् । सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा सञ्चालित सिस–३ गोताखोर तालिमको बिहीबार उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले समापन गरेका थिए । यो समाचार राजधानी दैनिकमा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका