जोडिनुहोस
  • होमपेज
  • अमेरिकाको एक विद्यालयमा दीक्षान्त समारोह चलिरहँदा बन्दुक आक्रमण, दुई जनाको मृत्यु

अमेरिकाको एक विद्यालयमा दीक्षान्त समारोह चलिरहँदा बन्दुक आक्रमण, दुई जनाको मृत्यु

काठमाडौँ । अमेरिकाको भर्जिनियास्थित एक विद्यालयमा अज्ञात समूहले अन्धाधुन्ध गोली चलाउँदा दुई जनाले ज्यान गुमाएका छन् । बन्दुक आक्रमणको घटनामा परी सात जना गम्भीर घाइते भएका छन् ।

भर्जिनियाको रिचमण्डस्थित एक विद्यालयमा दीक्षान्त समारोह चलिरहँदा बन्दुक आक्रमणको घटना भएको समाचारमा जनाइएको छ । उक्त घटनापछि विद्यालयले स्थानीय समयअनुसार, मंगलबार आयोजना गर्ने भनिएको अर्को दीक्षान्त समारोह पनि स्थगित गरेको छ ।

यसैगरी विद्यालयले तत्कालका लागि पठनपाठन पनि स्थगित गरेको छ । घटनामा ज्यान गुमाउने एक जना १८ वर्षीय युवा र उनको पिता हुन् । ती युवा र उनका पिता दीक्षान्त समारोहमा सहभागी हुन विद्यालय पुगेका थिए ।

स्थानीय प्रहरीले घटनामा ज्यान गुमाउने विद्यार्थी र उनको पिताको बारेमा थप जानकारी सार्वजनिक गरेको छैन । बन्दुक आक्रमण गर्ने १९ वर्षीय एक किशोरलाई पनि स्थानीय प्रहरी पक्राउ गरेको छ । आक्रमणकारीसँग सोधपुछ भइरहेको पनि प्रहरीले जनाएको छ ।

हातमा बन्दुक बोकेका अर्का एक व्यक्तिलाई पनि प्रहरीले पक्राउ गरेको छ । तर, प्रहरीको प्रारम्भिक अनुसन्धानबाट घटनामा ती व्यक्तिको संलग्नता पुष्टि हुन सकेको छैन । यद्यपि, ती व्यक्तिसँग प्रहरीले थप सोधपुछ गर्ने बताएको छ ।

अमेरिकामा बन्दुक आक्रमणको अवस्था चिन्ताजनक

विश्वकै समृद्ध र वैभवशाली राष्ट्र अमेरिकामा पछिल्लो समय बन्दुक आक्रमणका घटनाहरू निकै बढेका छन् । सार्वजनिक स्थलमा जथाभाबी बन्दुक चलाएर निर्दोष व्यक्तिको हत्या गर्ने क्रम चुलिएको छ । विश्व समुदायले भने यस्ता घटनालाई नजिकबाट नियालिरहेको छ ।

बन्दुक आक्रमणका घटना बढ्दै गएपछि विश्वका सात राष्ट्रले आफ्ना नागरिकलाई अमेरिका भ्रमण गर्नुअघि सचेत रहन ‘ट्राभल एड्भाइजरी’ जारी गरेका छन् । ती राष्ट्रहरूले अमेरिकामा पछिल्लो समय सार्वजनिक स्थलमा बन्दुक आक्रमणको घटना बढेको भन्दै आफ्ना नागरिकलाई यस्तो सूचना जारी गरेका हुन् ।

यसरी अमेरिका भ्रमण गर्दा सचेत रहन आफ्ना नागरिकलाई ‘ट्राभल एड्भाइजरी’ जारी गर्ने राष्ट्रहरूमा न्युजिल्यान्ड, क्यानडा, अस्ट्रेलिया, बेलायत, फ्रान्स, भेनेजुएला र उरुग्वे रहेका छन् । गत मे महिनाको पहिलो साता डालास क्षेत्रको अति नै व्यस्त डिपार्टमेन्टल स्टोरमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा ८ जनाले अनाहकमा ज्यान गुमाएका थिए । ३३ वर्षीय व्यक्तिले चलाएको गोली लागेर थप ७ जना घाइते भएका थिए ।

उक्त घटनामा अन्धाधुन्ध बन्दुक चलाउने व्यक्ति ३५ वर्षीय ती व्यक्तिको पनि प्रहरीको गोली लागेर मृत्यु भएको थियो । त्यसको एक साताअघि ओक्लाहोमामा एक व्यक्तिले गोली प्रहार गरेर आफ्नी श्रीमती, ३ जना छोराछोरी र २ जना साथीको हत्या गरेका थिए ।

गोली प्रहार गर्ने ती व्यक्तिमाथि यौन दूब्र्यवहारको आरोप लागेको थियो । त्यस लगत्तै ती व्यक्तिले पनि आत्महत्या गरेका थिए । त्यो घटनाको २ दिनअघि एक व्यक्तिले गोली प्रहार गरी आफ्ना ५ जना छिमेकीको हत्या गरेका थिए ।

उक्त घटनामा मारिनेमा १ जना ९ वर्षीय बालक पनि थिए । गोली चलाउने ती व्यक्तिलाई केही दिनपछि म्यानहन्टबाट प्रहरीले पक्राउ गरेको थियो । यो वर्षमात्र अमेरिकामा सार्वजनिक स्थलमा अन्धाधुन्ध गोली चलाउने २ सय वटा घटना भइसकेका छन् ।

सन् २०१८ पछि पहिलो पटक सन् २०२२ मा सार्वजनिक स्थलमा बन्दुक आक्रमणको घटना केही कम भएको थियो । औसतमा अमेरिकामा प्रत्येक वर्ष १ सय वटा बन्दुक आक्रमणका घटना हुने गरेको तथ्याङ्कले देखाउँछ ।

पछिल्लो ३ वर्षयताको तथ्याङ्कलाई हेर्ने हो भने अमेरिकामा औसतमा प्रत्येक वर्ष ६ सयभन्दा बढी बन्दुक आक्रमणको घटना भएको पाइन्छ । यो तथ्याङ्कले के देखाउँछ भने अमेरिकामा प्रत्येक दिन २ वटा बन्दुक आक्रमणका घटना हुने गरेका छन् ।

यस्ता घटनाका बाबजुद अमेरिकालाई विश्वकै सबैभन्दा सुरक्षित राष्ट्रमध्येको एक मानिन्छ । बन्दुक आक्रमणको तुलनामा अमेरिकामा अन्य अपराध भने निकै कम हुने गरेको पाइन्छ । अमेरिकामा प्रत्येक नागरिकलाई कानुनी नियम पूरा गरेर बन्दुक राख्न पाउने छुट छ ।

संसारमा अमेरिका मात्र यस्तो राष्ट्र हो, जहाँ मान्छेभन्दा बढी बन्दुकको सङ्ख्या रहेको छ । एउटा तथ्याङ्कले देखाएअनुसार, अमेरिकामा प्रत्येक १ सय जना व्यक्तिमा १ सय २० वटा बन्दुक रहेको छ । यो सर्वेक्षण स्विट्जरल्यान्डमा रहेको एउटा हतियारसँग सम्बन्धित संस्थाले गरेको हो ।

‘अमेरिकाका अधिकांश नागरिकमा बन्दुकको अभावमा आफू सुरक्षित नरहने सोच हाबी भएको पाइन्छ,’ साउथ क्यारोलिना विश्वविद्यालयका प्राध्यापक सिमोन हड्सन भन्छन् । सन् २०२२ मा सार्वजनिक गरिएको ‘ग्लोबल पिस इन्डेक्स’ मा अमेरिका १ सय २९औँ स्थानमा रहेको छ । उक्त इन्डेक्समा विश्वका कूल १ सय ६३ राष्ट्रलाई समेटिएको छ । विभिन्न २३ वटा बुँदामा केन्द्रित रहेर शान्त राष्ट्रहरूको सूचि तयार पारिएको हो ।

वासिङ्टनस्थित पेव रिसर्च सेन्टरको पछिल्लो प्रतिवेदन अनुसार, अमेरिकामा सन् २०२१ मा बन्दुक आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या प्रति एक लाख व्यक्तिमा १४.६ रहेको छ । अन्य विकसित राष्ट्रको तुलनामा यो निकै बढी हो । जबकि प्रति १ लाख व्यक्तिमा बन्दुक आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या क्यानडामा २.१, अस्ट्रेलियामा १.०, फ्रान्समा २.७ र स्पेनमा ०.६ रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका