जोडिनुहोस
  • होमपेज
  • तीजमा पशुपतिनाथ दर्शनका लागि सम्पूर्ण तयारी पुरा, बिहान ३ बजेबाटै चार ढोका खुल्ने

तीजमा पशुपतिनाथ दर्शनका लागि सम्पूर्ण तयारी पुरा, बिहान ३ बजेबाटै चार ढोका खुल्ने

काठमाडौं।यस वर्षको हरितालिका तीजको अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका लागि पशुपति क्षेत्रमा सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

कोषले शुक्रबार पत्रकार सम्मेलन गरी मन्दिर प्रवेश गर्ने भक्तजनका लागि आवश्यक सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको हो ।

हिन्दुहरूको महान् पर्व हरितालिका तीजका अवसरमा पशुपतिनाथको दर्शनार्थ पुग्ने भक्तजन एवं विशेषगरी हिन्दु नारीहरूको सेवा सुविधाका लागि आवश्यक पर्ने सुरक्षा, स्वयंसेवा, चन्दन प्रसादको व्यवस्था लगायतका व्यवस्था गरिएको कोषले जनाएको छ ।

‘कोषले दर्शन मार्गको व्यवस्था एवं सुधार, जुत्ता चप्पल राख्ने ठाउँको व्यवस्था, आकस्मिक स्वास्थ्य सेवा, उपासना सहितको मनोरञ्जनात्मक गीतसंगीत, दीपावली, व्रतालुहरूले गौदान गर्ने स्थानको व्यवस्था जस्ता कार्यक्रमलाई सहज रुपमा सम्पादन गर्न पशुपति क्षेत्र विकास कोषले विभिन्न व्यवस्था गर्दै तयारीको अन्तिम चरणमा आइपुगेको व्यहोरा जानकारी गराउँदछौँ,’ कोषले भनेको छ ।

पशुपतिनाथको दर्शन गर्न आउने दर्शनार्थीहरूको सुविधाका लागि चार स्थानबाट दर्शन मार्गको व्यवस्था गरी दर्शन गर्ने व्यवस्था मिलाइएको र सोही अनुसार जुत्ता चप्पल राख्ने व्यवस्था पनि मिलाइएको कोषले जानकारी दिएको छ ।

गौरीघाट, उमाकुण्ड, दक्षिणमूर्ति, रुद्रगाढेश्वर, वासुकी हुँदै उत्तरढोकाबाट मन्दिर प्रवेश गर्नेगरी एउटा लाइनको व्यवस्था गरिएको छ । त्यस्तै मित्रपार्क, जय वागेश्वरी, भुवनेश्वरी, शंकराचार्य मठ दक्षिण हुँदै फलामे पुल–पश्चिम सानो ढोकाबाट मन्दिर प्रवेश गर्ने अर्को लाइन तथा गौशाला, पिङ्गलास्थान वाट वनकाली, चार शिवालय, पञ्चदेवल पूर्व, बज्रघर, दक्षिणढोका सम्मको लाइनलाई चौसट्ठी बाट मन्दिर प्रवेश गर्ने गरी व्यवस्थापन गरिएको कोषले जनाएको छ ।

त्यस्तै तिलगंगा राममन्दिर हुँदै आर्यघाट पारीपट्टि भएर पशुपतिनाथ मन्दिरको पूर्व ढोकाबाट प्रवेश गरी दर्शन गर्न अर्को लाइनको व्यवस्था गरिएको बताइएको छ ।

दर्शनार्थीले छिटोभन्दा छिटो दर्शन गरी फर्कन सक्ने गरी बिहान ३ देखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोल्ने व्यवस्था मिलाइएको र श्रीयन्त्र पूजा र महाभोगको बेलामा मात्र केही समय मन्दिर बन्द रहने त्यस बाहेकको समय मन्दिर खुला रहने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ।

कोषले बहुमूल्य गरगहना लगाएर मन्दिर नआउन आग्रह गरेको छ ।

‘हरितालिका पर्वलाई व्यवस्थित गरी दर्शनार्थीलाई आवश्यक सेवा सुविधा पुर्‍याउन धार्मिक सामाजिक संस्थाहरू लाई समन्वय गरी मन्दिर प्राङ्गण भित्र आवश्यकता अनुसार संस्कृति संरक्षण महाशाखाले महिला स्वयंसेवक मात्र परिचालन गर्नेगरी मिलाउनेछ, पुरुष स्वयंसेवकलाई मन्दिर प्राङ्गण भित्र पूर्ण रुपमा निषेध गरिनेछ,’ कोषले भनेको छ ‘ तर कोषका कर्मचारी, भण्डारी, रकमी र महिला सुरक्षाकर्मी भने परिचालन गरिनेछ । कोर क्षेत्र र सो भन्दा बाहिरी क्षेत्रमा भने आवश्यकता अनुसार स्वयंसेवी संस्था तथा स्वयंसेवक परिचालन गरिनेछ ।’

त्यस्तै सहज दर्शन र मन्दिर र ट्राफिक व्यवस्थापन र पार्किङको व्यवस्थापनलाई प्राथमिकतामा राखिएको संस्कृति संरक्षण महाशाखाका निमित्त प्रमुख रेवतीरमण अधिकारीले जानकारी दिए ।

त्यस्तै परिषद् सदस्य भरतप्रसाद बडालले धर्म गर्न आउनेले अरुलाई छल्ने भन्दा पनि अरुलाई सहयोग गर्ने भावनाका साथ प्रस्तुत हुनु पर्ने भन्दै एक अर्कालाई सहयोग गर्न आग्रह गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका