जोडिनुहोस
  • होमपेज
  • शैक्षिक योग्यता नपुगेको दाबीसहित गभर्नर महाप्रसाद अधिकारीविरुद्ध सर्वोच्चमा रिट

शैक्षिक योग्यता नपुगेको दाबीसहित गभर्नर महाप्रसाद अधिकारीविरुद्ध सर्वोच्चमा रिट

शैक्षिक योग्यतामा प्रश्न उठाउँदै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । अधिवक्ताहरू दीपकराज जोशी, प्रतापसिंह ठकुराठी, दामोदर तिम्सिना र चुडामणि भण्डारीले आज बिहीवार सर्वोच्चमा रिट दर्ता गर्नुभएको हो ।

नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २० अनुसार गभर्नरका लागि शैक्षिक योग्यता न्यूनतम स्नातकोत्तर तोकिएको छ । तर गभर्नर अधिकारीको योग्यता चार्टर्ड एकाउन्टेन्ट सीए मात्र रहेको र त्यो स्नातकोत्तर वा त्यो सरह नभएको रिट निवेदकको दाबी रहेको छ । रिटमा मन्त्रिपरिषद्, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइएको छ । अदालतले रिटको पेसी भोलि शुक्रवार बिहान १० बजेका लागि तोकेको छ ।

गभर्नर अधिकारीले आवेदन दिँदा बुझाएको बायोडाटामा पनि स्नातकोत्तरबारे केही उल्लेख नगरेकाले गभर्नरका लागि उहाँको शैक्षिक योग्यता नपुगेको प्रमाणित भएको रिटमा जिकिर गरिएको छ । महाप्रसाद अधिकारी २०७६ सालको चैत २४ गते गभर्नरमा नियुक्त हुनुभएको थियो । कार्यसम्पादन कमजोर रहेको भन्दै यसअघि सरकारले पदबाट हटाए पनि सर्वोच्चले उहाँलाई नहटाउन आदेश दिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका