जोडिनुहोस
  • होमपेज
  • मुगुमा हिउँपहिरोमा बेपत्ता तीन जनाको खोजीमा कठिनाइ

मुगुमा हिउँपहिरोमा बेपत्ता तीन जनाको खोजीमा कठिनाइ

काठमाडौँ— मुगुमा हिउँपहिरोमा परेर बेपत्ता भएका तीन जनाको खोजीमा कठिनाइ भइरहेको छ ।

भौगोलिक विकटता र खराब मौसमका कारण हिउँपहिरोमा परेर हराइरहेकाको खोजीमा कठिनाइ भएको हो ।

गएको शुक्रवार मुगुको कार्मारोङ गाउँपालिका–२ मुगुको च्यार्खु लेकमा यार्सा टिप्न गएका जुम्ला पातारासी–२ तल्फी गाउँका ४२ वर्षीय तारासिंह सार्की, ३८ वर्षीय पूर्ण सिंह सार्की र ३६ वर्षका वीर बोहोरा हिउँपहिरोमा परेका हुन् ।

खोजी तथा उद्धार टोली अझै घटनास्थल पुग्न सकेको छैन । टोली घटनास्थल पुग्न अझै समय लाग्ने मुगुका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापाले बताए । उनका अनुसार आज बल्ल सुर्खेतबाट सेना र प्रहरीसहितको उद्धार टोलीलाई हेलिकप्टरमार्फत् घटनास्थलतर्फ पठाइँदै छ । तर, घटनास्थलसम्म हेलिकप्टर पुग्ने सम्भावना छैन ।

हेलिकप्टरबाट २७ किलोमिटर वर नै १४–१५ जनाको खोजी तथा उद्धारको टोली पुग्ने र त्यहाँबाट हिउँ पन्छाउँदै घटनास्थलतर्फ जाने थापाले जानकारी दिए । विकटसँगै हिउँ नै हिउँले ढाकिएको ठाउँ भएकाले उद्धार टोली पुग्न पनि कठिन भइरहेको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापाले बताए। गएको शुक्रवारकै घटना भए पनि अस्ति शनिवार बेलुकी मात्रै जिल्ला प्रशासन कार्यालयले उनीहरु बेपत्ता भएकाबारे जानकारी पाएको थियो ।

हिजो नै हेलिकप्टरमार्फत् घटनास्थलमा उद्धारको टोली पठाउने तयारी गरे पनि प्रक्रिया पूरा गर्दा ढिलो भएकाले बल्ल आज टोली जान लागेको हो । घटना भएको ठाउँ पुग्न मुगु कार्मारोङ गाउँपालिकाको प्रहरी चौकीबाट दुई दिनको पैदल यात्रा हिँड्नुपर्ने जिल्ला प्रशासन कार्यालय मुगुले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका