जोडिनुहोस
  • होमपेज
  • नीति तथा कार्यक्रम परम्परा धान्ने किसिमको छ : डा. स्वर्णिम वाग्ले

नीति तथा कार्यक्रम परम्परा धान्ने किसिमको छ : डा. स्वर्णिम वाग्ले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले सरकारको नीति तथा कार्यक्रम परम्परा धान्ने किसिमको रहेको बताएका छन् ।

नेपालमा १० वर्ष भन्दा बढी समयदेखि यस्तै नीति तथा कार्यक्रम आइरहेको भन्दै यसवर्षको कार्यक्रममा धेरै आलोचनात्मक भइरहनु आवश्यक नभएको उनले बताए ।

‘यो परम्परा धान्न ल्याइएको दस्तावेज हो र परम्परा धानिएको छ । नवीनता, ऊर्जा, प्रेरणा, महत्वाकांक्षा इत्यादिको कसीमा हामी अझ राम्रो गर्न सक्थ्यौं होला’ मंगलबार प्रतिनिधिसभा बैठकमा उनले भने, ‘ १० वर्षदेखि त राज्य प्रणालीमा परोक्ष अप्रत्यक्ष हिसाबले म आफैं पनि संलग्न भएको हिसाबले नीति तथा कार्यक्रम यस्तै यस्तै हो ।’

नीति तथा कार्यक्रमलाई सत्ता पक्षले गजबको भिजन बोकेको भनेको र अर्को पक्षले अल्छी विद्यार्थीले हतारमा लेखेको शब्दको थुप्रोजस्तो भनेको भन्दै रास्वपा सांसद वाग्लेले आफूहरु यो दुबै पक्षमा असहमत रहेको बताए ।

सत्ता पक्षले नचाहेसम्म नीति तथा कार्यक्रम र बजेटमा परिमार्जन नहुने भन्दै उनले हालको प्रचलनमा क्रमभंगता गर्न जरुरी भने रहेको बताए ।

संसदको बजेट अधिवेशन सुरु भएपछि अर्थमन्त्रीले बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्ने, त्यसमाथि संसदमा छलफल हुने, त्यसपछि राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने र संसदमा छलफल गर्ने प्रचलन छ । नीति तथा कार्यक्रममाथिको छलफलपछि १५ जेठमा अर्थमन्त्रीले बजेट पेश गर्नेछन् ।

वाग्लेले बजेट अधिवेशन नीति तथा कार्यक्रमबाट सुरु गर्न र बजेटको सिद्धान्त र प्राथमिकतालाई बजेट वक्तव्यमै समावेश गर्न सुझाव दिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका