जोडिनुहोस

खेलकुद

चेन्नईलाई आइपीएलको उपाधि

  • Sagarmatha TV
  • मङ्लबार, जेष्ठ १६, २०८०
चेन्नईलाई आइपीएलको उपाधि

काठमाडौं । चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपीएल) २०२३ को उपाधि जितेको छ । अहमदाबादमा सम्पन्न फाइनलमा गुजरात टाइटन्सलाई डकवर्थ लेविस पद्धतिको आधारमा पाँच विकेटले पराजित गर्दै चेन्नईले उपाधि जितेको हो ।

यो सँगै चेन्नईले पाँचौं पटक आइपीएलको उपाधि जितेको छ । चेन्नईले मुम्बई इन्डियन्सले सर्वाधिक पाँच पटक उपाधी जितेर बनाएको कीर्तिमान बराबरी गरेको छ ।

गुजरातले दिएको २ सय १५ रनको लक्ष्य पछ्याएको चेन्नईले ब्याटिङ सुरु गरेको पहिलो ओभरमा भारी वर्षा भएपछि खेल रोकिएको थियो । लामो समय रोकिएको खेल पाँच ओभर घटाएर सुरु गरिएको थियो । र, चेन्नईले १ सय ७१ रनको नयाँ लक्ष्य पाएको थियो ।

नयाँ १ सय ७१ रनको लक्ष्य चेन्नईले निर्धारित १५ ओभरको अन्तिम बलमा ५ विकेट गुमाउँदै पूरा गर्यो । चेन्नईका लागि डेभोन कन्वेले २५ बलमा ४ चौका र २ छक्काको सहयोगमा सर्वाधिक ४७ रन बनाए । चेन्नईलाई जितको लागि अन्तिम २ बलमा १० रन चाहिँदा रविन्द्र जडेजाले छक्का र चौका हान्दै जिताएका थिए ।

चेन्नईका शिबम दुबे २१ बलमा २ छक्कासहित ३२ रनमा अविजित रहे । रविन्द्र जडेजा ६ बलमा १ चौका र १ छक्कासहित १५ रनमा अविजित रहे ।

चेन्नईलाई उपाधि जित्न ओभरमा १३ रन चाहिँएको थियो । बलिङमा मोहित शर्मा आउँदा क्रिजमा शिबम दुबे र रविन्द्र जडेजा रहेका थिए । मोहित शर्माले पहिलो बल दुबेलाई डट राखे ।

दोस्रो बलमा एक रन बटुलेपछि ४ बलमा १२ रन चाहिँएको थियो । तेस्रो बलमा जडेजाले पनि एक रन नै बटुले । चौथो बलमा पनि एक रन नै दिएपछि उपाधि कठिन बनेको थियो ।

पाँचौं बलमा जडेजाले छक्का हानेपछि खेल रोचक बनेको थियो । अन्तिम बलमा जितको लागि चार रन चाहिँएको थियो । अन्तिम बलमा जडेजाले चौका हान्दै उपाधि पक्का गराएका हुन् ।

चेन्नईलाई ओपनर ऋतुराज गायकवाड र डेभन कन्वेले ३९ बलमा ७४ रन जोड्दै उत्कृष्ट सुरुआत गरेका थिए । गायकवाड १६ बलमा ३ चौका र १ छक्कासहित २६ रनमा आउट भए ।

अजिंक्या रहाणे १३ बलमा २ चौका र २ छक्कासहित महत्वपूर्ण २७ रन जोड्दै आउट भए । उनी मोहित शर्माको बलमा विजय शंकरबाट क्याच आउट भए ।

आफ्नो आइपीएल करिअरको अन्तिम खेल खेलेका अम्बाती रायुडू ८ बलमा १ चौका र २ छक्कासहित १९ रनमा आउट भए । गुजरातका मोहित शर्माले ३ तथा २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय १४ रन बनायो ।

गुजरातका लागि साई शुदर्शन र ऋद्धिमान शाहले अर्धशतकीय ईनिङ्स खेले । शुदर्शनले ४७ बलमा ८ चौका र ६ छक्काको सहयोगमा ९६ रन बनाए । शाहले ३९ बलमा ५ चौका र १ छक्काको सहयोगमा ५४ रन बनाए ।

पहिलो विकेटका लागि ओपनरद्वय ऋद्धिमान शाह र शुभमन गिलले ४२ बलमा ६७ रनको साझेदारी गरे । पछिल्लो चार खेलमा तीन शतक बनाएका गिलले २० बलमा ७ चौकाको सहयोगमा ३९ रन बनाए ।

दोस्रो विकेटका लागि ऋद्धिमान शाह र साई शुदर्शनले ६४ रनको साझेदारी गरे । कप्तान हार्दिक पान्ड्याले बलमा चौका र छक्काको सहयोगमा अविजित रन बनाए । राशिद खान शुन्य रनमा आउट भए ।

चेन्नईका लागि मथिशा पथिरानाले २ तथा दीपक चहर र रविन्द्र जडेजाले समान १/१ विकेट लिए ।

लिग चरणमा गुजरात शीर्ष र चेन्नई दोस्रो स्थानमा रहँदै प्लेअफमा स्थान बनाएका थिए । पहिलो क्वालिफायरमा चेन्नईले गुजरातलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो । गुजरातले दोस्रो क्वालिफायरमा मुम्बईलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो ।

जितसँगै चेन्नईले मुम्बई इन्डियन्सले पाँच पटक उपाधी जितेर बनाएको कीर्तिमानलाई बराबरी गरेको छ । उता, गुजरातको भने लगातार दोस्रो पटक उपाधी जित्ने योजना बिफल भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका