जोडिनुहोस
  • होमपेज
  • गोरखाबाट काठमाण्डौँ हनुमानढोका दरबारका लागि फूलपाती पठाइयो

गोरखाबाट काठमाण्डौँ हनुमानढोका दरबारका लागि फूलपाती पठाइयो

गोरखा। गोरखा दरबारस्थित दसैँघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ । विधिपूर्वक पूजाअर्चना गरी दरबारका सुसारेले आज बिहान ८ः०० बजेको शुभसाइतमा फूलपातीसहितको डोली हनुमानढोका दरबार पठाएका हुन् ।

फूलपातीको डोली बा २ झ २१२८ नम्बरको सरकारी गाडीमा राखेर हनुमानढोका दरबार पठाइएको गोरखा दरबारका मूलपुरोहित शारदाप्रसाद भट्टराईले जानकारी दिए । गोरखाबाट पठाइएको फूलपाती हनुमानढोका दरबार पुर्याइएपछि आज साँझ हर्षबढाइँका साथ हनुमानढोका दरबारमा फूलपाती भित्र्याउने प्रचलन रहेको छ ।

गोरखा दरबारको दसैँघरमा पनि आजै साँझ फूलपाती भित्र्याइन्छ । तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडौँको हनुमानढोका दरबारबाट राजकाज सुरु गरेदेखि बर्सेनि बडादसैँको सातौँ दिन गोरखा दरबारको दसैँघरबाट फूलपातीसहितको डोली काठमाडौँको हनुमानढोका दरबारमा पुर्याएर भित्र्याउने प्रचलन रहँदै आएको उनले बताए ।

गोरखा दरबारको दसैँघरबाट फूलपातीको डोली दरबारका सुसारेहरूले बोकेर ल्याई गाडीमा राखेर हनुमानढोका दरबार पठाइएको हो । दरबारस्थित दसैँघरबाट बाजागाजासहित र्याली निकाली गोरखाबाट फूलपातीको बिदाइ गरिएको उनले बताए ।

गोरखा नगरपालिकाका उपप्रमुख मसलीमाया थोकर, प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाल, जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक अनुपम श्रेष्ठलगायतले दरबारबाट फूलपातीको बिदाइ गरेर पठाएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका