जोडिनुहोस
  • होमपेज
  • ‍पाकिस्तानको आम चुनावमा सेनाले हस्तक्षेप गरेको भन्दै अमेरिका, बेलायतलगायत देशको चिन्ता

‍पाकिस्तानको आम चुनावमा सेनाले हस्तक्षेप गरेको भन्दै अमेरिका, बेलायतलगायत देशको चिन्ता

अमेरिका, बेलायत लगायतका देशले पाकिस्तानको आम चुनावमा सेनाले हस्तक्षेप गरेको भन्दै चिन्ता जनाएका छन् । बेलायती विदेशमन्त्री डेभिड क्यामरुनले आफ्नो देशले पाकिस्तानी अधिकारीहरूलाई मौलिक मानवअधिकार कायम गर्न अपील गरेको बताउनुभएको छ ।

एक विज्ञप्तिमा क्यामरुनले सबै दलहरूलाई औपचारिक रूपमा चुनाव लड्न नपाएकोमा दुःख व्यक्त गर्नुभएको छ । यसैबीच अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले पाकिस्तानको चुनावमा अभिव्यक्ति स्वतन्त्रता र शान्तिपूर्ण भेलामा प्रतिबन्ध लगाएकोमा आलोचना गर्नुभएको छ ।

निर्वाचन प्रक्रियाका क्रममा सञ्चारकर्मीमाथि भएको आक्रमण र इन्टरनेट र दूरसञ्चार सेवामा प्रतिबन्ध लगाइएको भन्दै अमेरिकाले निष्पक्ष चुनावमा प्रश्न उठाएको छ । निर्वाचन आयोगले चुनावमा इमरान खानको पार्टी पीटीआईमाथि प्रतिबन्ध लगाएको थियो ।

यस्तै, स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका पीटीआई समर्थक कयौँ उम्मेदवारलाई विभिन्न आरोप र बहानामा उम्मेदवारी दिनै रोक लगाइएको थियो । यस्तै, सेना र अन्य दलले मतगणनामा पनि जालझेल गरेर कयौँ पीटीआई समर्थक उम्मेदवारलाई जानाजान हराएको आरोप लगाएको छ ।

इमरान खानलाई विभिन्न आरोपमा ३० वर्षभन्दा धेरै समयको जेल सजाय तोकिएको छ । २ सय ६६ सिटका लागि गएको बिहीवार भएको चुनावमा अहिलेसम्म ९९ सिटमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्, यी स्वतन्त्र उम्मेदवार पीटीआई समर्थित हुन् ।

पाकिस्तान मुस्लिम लिगका ७१ जना र पाकिस्तान पिपुल्स पार्टीका ५३ जना विजयी भएका छन् । एआईद्वारा बनाइएको विजय भाषणमा इमरान खानले अहिलेसम्मको जित नागरिकको अभूतपूर्व सङ्घर्षको नतिजा भएको बताउनुभएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका