जोडिनुहोस
  • होमपेज
  • औद्योगिक क्षेत्रमा दैनिक १२ घण्टा लोडसेडिङ

औद्योगिक क्षेत्रमा दैनिक १२ घण्टा लोडसेडिङ

सरकारले ०७५ वैशाख ३१ देखि देशमा लोडसेडिङ अन्त्य भएको घोषणा गर्‍यो । उक्त घोषणालाई उद्योगीले खुलेर समर्थन गरे । तर, मुलुकमा लोडसेडिङ अन्त्यको घोषणा भएको ६ वर्ष पुग्दा पनि औद्योगिक क्षेत्रमा भने समस्या ज्यूका त्यूँ छ । अहिले पनि उद्योगहरूले दैनिक १० देखि १२ घण्टासम्म लोडसेडिङ खेपिरहनु परेको छ ।

उद्योगीहरूले विद्युत प्राधिकरणसँग आफूलाई लोडसेडिङ हुने समयको तालिका माग गर्दा समेत प्राधिकरणले नदिएको आरोप लगाएका छन् । उद्योगीहरू दोहोरो मारमा परेको गुनासो गरिरहेका छन् ।

विराटनगर, वीरगन्ज, बुटवल, भैरहवा र बर्दघाट क्षेत्र आसपासका औद्योगिक क्षेत्रमा विद्युत आपूर्ति अघोषित रुपमा अवरुद्ध भइरहेको त्यहाँका उद्योगिहरु बताउँछन् ।

उद्योग बन्द गर्ने पनि नसक्ने र चलाउन पनि नसक्ने अवस्थामा पुगेको उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना बताउँछन् । उद्योग सञ्चालन गर्नलाई पर्याप्त बिजुली नभएको र बन्द गरेमा भोलिदेखि नै बैंकले कर्जा माग्ने भएकाले बन्द गर्ने समेत नसकिएको सुरानाको भनाइ छ ।

‘अहिले विराटनगर औद्योगिक क्षेत्रमा बेलुका ६ बजेदेखि बिहान ६ बजे सम्म १२ घण्टा लोडसेडिङ छ’, सुराना भन्छन्, ‘त्यसले गर्दा हाम्रो उद्योगको उत्पादनमा ७५ प्रतिशतसम्म कटौती आएको छ ।’ प्लास्टिक, डन्डी जस्ता उद्योगहरू धराशायी बन्दै गएको सुरानाको भनाइ छ ।

‘प्लास्टिक र डन्डी उद्योगको ८० प्रतिशतसम्म उत्पादनमा कमी आएको छ’, सुरानाले भने, ‘त्यस्ता उद्योगमा विद्युत गएमा मेसिन सेलाउँछ र फेरि तात्न समय लाग्छ अनि उत्पादन कटौती हुन्छ, व्यापारमा कटौती हुन्छ र उद्योग धराशायी बन्दछ ।’

यसरी उद्योगीलाई दुःख दिनुमा राजनीतिज्ञको कमजोरी र प्राधिकरणको नालायकीपन भएको अध्यक्ष सुरानाको भनाइ छ ।

‘भारतलाई हामीले वर्षायाममा त्यत्रो बिजुली बेच्छौँ, त्यो अहिले हामीलाई आवश्यक परेका बेला अलिकति बढी शुल्क तिरेर किनेर दिए हुँदैन ?, सुराना भन्छन्, ‘यो विद्युत प्राधिकरणको लापरवाही हो ।’

नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशका पूर्वअध्यक्ष गणेशप्रसाद लाठ पनि उद्योगमा लोडसेडिङ हुने गरेको बताएका छन् । मधेस प्रदेशमा ८ देखि १० घण्टासम्म लोडसेडिङ हुने गरेको उनको भनाइ छ ।

‘यहाँ मधेसको औद्योगिक क्षेत्र ८ देखि १० घण्टासम्म लोडसेडिङ हुने गरेको छ’, लाठले  भने, ‘लाइन आउने–जाने कुनै निश्चित समय छैन, त्यसले गर्दा उद्योगीलाई समस्या भएको छ ।’

लोडसेडिङको असर उत्पादन, गुणस्तर, लागतमा पर्ने गरेको पूर्वअध्यक्ष लाठले बताए । ‘सामान मेसिनमा भरेको हुन्छ, लाइन आउने–जाने समय थाहा नभई लाइन गएपछि मेसिनमा भरेको सामग्री बिग्रिन्छ’, लाठले भने, ‘यसले गर्दा उद्योगीलाई मार परेको छ ।’

अहिलेको अवस्थामा अलि महंगोमा भएपनि भारतबाट विद्युत ल्याएर उद्योगीलाई बचाउनुपर्ने लाठको भनाइ छ ।

किन हुँदैछ त लोडसेडिङ ?
अहिले प्राधिकरणले भारतसँग पर्याप्त मात्रामा बिजुली नदिँदा नेपालमा अघोषित लोडसेडिङ भइरहेको हो । भारतले आफ्नो ग्यास उर्जा दिन सहमत भएपनि जलविद्युत उर्जा भने दिन मानिरहेको छैन । ग्यास उर्जा खरिद गर्दा नेपाललाई महँगो पर्ने भएकाले गर्दा प्राधिकरणले भारतसँग विद्युत खरिद गरेको छैन ।

प्राधिकरणले विद्युत भारतबाट खरिद गर्दा प्रतियुनिट १६ रुपैयाँ भन्दा बढी मूल्य पर्छ । तर, प्राधिकरणले नेपालमा उत्पादन भएको विद्युत भारतलाई नै बिक्री गर्दा भने प्रतियुनिट ६ रुपैयाँका दरले बिक्री गर्ने गर्छ । सिधारुपमा हेर्दा अहिले प्राधिकरणले प्रतियुनिट १० रुपैयाँको व्यापार घाटा गरिरहेको छ ।

त्यसमा पनि ग्यासबाट उत्पादित विद्युत खरिद गर्दा प्रतियुनिट व्यापार घाटा १० रुपैयाँ भन्दा बढी पर्ने भएकाले प्राधिकरणले भारतबाट बिजुली किनेको छैन । जसले गर्दा अहिले उद्योगमा अघोषित रुपमा लोडसेडिङ भएको हो ।

अहिले निजी क्षेत्र र सरकारको सरकारद्वारा कुल ३ हजार मेगावाटका आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारणमा जडित छ । हिउँद लागेसँगै ती आयोजनाबाट १ हजार ७३ मेगावाट मात्र बिजुली उत्पादन भइरहेको प्राधिकरणले जनाएको छ । प्राधिकरणले भारतसँग ५५४ मेगावाट विद्युत आयात गरिरहेकै छ । तर, त्यति विद्युतले मात्र हिउँदमा पुग्ने अवस्था छैन ।

प्राधिकरण भन्छस् व्यवसाय गर्नेलाई राज्यले किन पाल्ने ?

विद्युत प्राधिकरणले भने व्यवसाय गर्नेलाई राज्यले पाल्न नसक्ने बताएको छ । विद्युत प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले  व्यवसाय गर्नेलाई राज्यले पाल्न नसक्ने तर्क गरेका छन् ।

‘व्यवसाय गर्नेलाई राज्यले किन पाल्नेरु’, घोषले भने, ‘कहिलेकाहीँ बिजुली जाने कुरा फरक हो तर, त्यसरी विद्युत गएको पनि छैन ।’

पत्रकारले पनि एकतर्फी समाचार लेखेको भन्दै घोषले आक्रोश व्यक्त गरे, ‘तपाई आफैँ विचार गर्नु त १० रुपैयाँ घाटा खाएर कसैले दिन सक्छ रु तपाईँहरूले पनि त्यो एङ्गलबाट खै सोच्नु भएकोरु मैले धेरै पत्रकारलाई भनिसकें तर कसैले लेख्नु भएन ।’

उपभोक्तामा विद्युत आपूर्ति नपुगे त्यसको जवाफ आफूले दिन सक्ने घोषको तर्क छ । ‘के तपाईंको घरमा बिजुली छैन रु तपाईंको घरमा विजुली छैन भने भन्नुस्’, घोषले भने, ‘हैन भने तपाईँहरूले पनि फरक तरिकाले सोच्ने गर्नुन ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका