जोडिनुहोस
  • होमपेज
  • भारतद्वारा दार्चुलामा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको शिलान्यास

भारतद्वारा दार्चुलामा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको शिलान्यास

भारत सरकारको सहयोगमा दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिकास्थित श्री गलैनाथ माध्यमिक विद्यालयको विद्यालय भवन बन्ने भएको छ ।

बिहीबार एक कार्यक्रमबिच शैल्यशिखर नगरपालिकाका मेयर विजय सिंह धामी र भारतीय राजदूतावास काठमाडौँका द्वितीय सचिव प्रशान्त कुमार सोनाले नेपाल–भारत विकास सहकार्य अन्तर्गत बन्न लागेको विद्यालय भवनको शिलान्यास गरेका हुन् ।

भारतीय दूतावासका अनुसार भवनको लागत २ करोड ७३ लाख रुपैयाँ रहेको छ । ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गतको भारत सरकारको अनुदान सहयोग यस विद्यालयलाई आवश्यक अन्य सुविधासँगै दुई तल्ले विद्यालय भवन, शौचालय, कार्यालय भवनको निर्माण र फर्निचरमा उपयोग गरिने दूतावासको भनाई छ ।

भारत सरकार र नेपाल सरकारबिच भएको सम्झौता अन्तर्गत यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रूपमा अघि बढाइनेछ र नगरपालिकामार्फत कार्यान्वयन गरिनेछ ।  यो परियोजना भारत र नेपालबिचको बलियो विकास साझेदारीको एक महत्त्वपूर्ण दृष्टान्तको रूपमा रहेको दूतावासले जनाएको छ ।

कार्यक्रममा बोल्दै शैल्यशिखर नगरपालिकाका मेयरले प्राथमिकताका क्षेत्रमा नेपाली जनताको उन्नतिका लागि भारत सरकारले पुर्‍याउँदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गरे । उक्त कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापनका प्रतिनिधि, शिक्षक/शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको पनि उपस्थिति रहेको थियो ।

सन् २००३ यता भारत सरकारले नेपालका विभिन्न क्षेत्रमा ५५१ वटा भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको छ र ४८९ वटा परियोजना सम्पन्न गरिसकेको छ । यी मध्ये सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रमा ४० वटा परियोजना रहेका छन् जसमा १० वटा परियोजना दार्चुलामा छन् ।

यसका साथै भारत सरकारले स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई १००९ वटा एम्बुलेन्स र ३०० वटा स्कुल बस उपहार स्वरूप प्रदान गरिसकेको छ जसमध्ये सुदूरपश्चिम प्रदेशलाई ६० वटा एम्बुलेन्स र २० वटा स्कुल बस उपहार स्वरूप प्रदान गरिएको छ । यसमा ८ वटा एम्बुलेन्स र २ वटा स्कुल बस दार्चुला जिल्लालाई उपलब्ध गराइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका