जोडिनुहोस
  • होमपेज
  • श्रमिक अधिकार कार्यान्वयन गर्न सरकार प्रयत्नशील छ : प्रधानमन्त्री दाहाल

श्रमिक अधिकार कार्यान्वयन गर्न सरकार प्रयत्नशील छ : प्रधानमन्त्री दाहाल

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवा एवं बौद्धिक जनशक्ति पलायन रोक्न प्रतिबद्ध रहेको बताएका छन्।

विश्व श्रमिक दिवस, २०२४ का अवसरमा शुभकामना दिँदै प्रधानमन्त्रीले स्वदेशमा रोजगारीको पर्याप्त अवसर उपलब्ध गराई युवाको ज्ञान, सीप र ऊर्जा देश विकासमा लगाउन सरकार निरन्तर क्रियाशील रहेको बताएका हुन्।

उनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा उत्पादनसँगै रोजगारीलाई प्राथमिकतामा राख्न गम्भीरताका साथ लागिरहेको बताएका छन्। ​उनले श्रमिकको हितरक्षालाई केन्द्रमा राखेर विदेशमा रहेका नेपाली, सरकारी, अर्धसरकारी र सामाजिक क्षेत्रमा क्रियाशील श्रमिकका निम्ति योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गरेको बताएका छन्।

श्रमजीवी वर्ग राज्यको बहुआयामिक विकासको आधार रहेको भन्दै उनले श्रमजीवी वर्गको हकहित र अधिकारको सुनिश्चितता नभएसम्म समानता, स्वाभिमान, सामाजिक न्याय र समृद्धि सम्भव नहुने स्पष्ट पारेका छन्।

‘यही यथार्थलाई आत्मसात् गरेर नयाँ संविधानमा श्रमिकको हितलाई प्रत्याभूति गरिएको छ । उक्त संवैधानिक व्यवस्थालाई व्यवहारमा कार्यान्वयन गर्नु नै वर्तमानको हाम्रो महत्वपूर्ण कार्यभार हो’, उनको सन्देशमा भनिएको छ, ‘श्रमसम्बन्धी हक र अन्तर्राष्ट्रिय श्रम संगठनको विधान तथा नेपालले अनुमोदन गरेका अभिसन्धिहरूप्रति समेत सरकार प्रतिबद्ध छ।’

उनले स्वदेशमा रोजगारीको पर्याप्त अवसर नभएसम्म रोजगारीको महत्वपूर्ण माध्यम वैदेशिक रोजगारीलाई थप सुरक्षित, व्यवस्थित तथा मर्यादित बनाउनुपर्नेमा जोड दिएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका