जोडिनुहोस
  • होमपेज
  • प्रहरीमा गृहमन्त्रीको मनलागीः सरुवा, बढुवादेखि काममा समेत दबाब

प्रहरीमा गृहमन्त्रीको मनलागीः सरुवा, बढुवादेखि काममा समेत दबाब

पुस्कर खतिवडा ।

गृहमन्त्री रवि लामिछानेको ठाडो हस्तक्षेपका कारण यतिबेला समग्र नेपाल प्रहरी संगठन नै भद्रगोल भएको प्रहरी अधिकारीहरुको आरोप छ । प्रहरी महानिरीक्षक वसन्त कुँवर इन्टरपोलको महासभामा भाग लिन फ्रान्स पुगेका बेला काठमाडौंका दुई संवेदनशील कार्यालय, जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख फेरिए ।

हुन त प्रहरीमा कार्यालयमा प्रमुख फेरीनु अस्वभाविक भने होइन । तर राम्रो काम गरेका अधिकृतहरुलाई सामान्यतया कार्यक्षेत्रबाट एक वर्ष नपुगी सरुवा गरिँदैन । तथापी परिसरका प्रमुख एसपी भुपेन्द्र खत्री र कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौरको ९ महिनामै सरुवा भयो । प्रहरी महानिरीक्षक नभएका समयमा एकाएक भएको यो सरुवाले प्रहरी संगठन भित्र खैलाबैला मच्चिएको छ ।

प्रहरी संगठन भित्र रविको हस्तक्षेत्र यतिमात्रमा सिमित छैन । प्रहरीमा रिक्त भएका ३ प्रहरी नायब महानिरीक्षक डीआईजी पदमा समेत जुनियरलाई बढुवा गर्न रविले दबाब दिएको आरोप छ । आईजी कुँवरकै ब्याचीहरू अहिले पनि एसएसपी नै छन् । तर उनीहरूलाई छुटाएर २ वर्ष जुनियर एसएसपीलाई डिआइजीमा बढुवा गर्न गृहमन्त्रीले चासो दिएको चर्चा छ ।

यतिमात्र कहाँ हो र, ७८ हजार प्रहरीको नेतृत्व गर्ने आइजी कुवँरकै अधिकारलाई समेत वेवास्ता गर्दै मधेश प्रदेशका जिल्ला प्रमुखहरु पनि रविले यसै साता सरुवा गरे । मधेशका ६ एसएसपी र १ डिआइजीको सरुवा गरेर रविले प्रदेश प्रहरी संगठन पनि भद्रगोल बनाएका छन् । रविको यो शैलीलाई आफ्नो नाम जोडिएका सहकारीदेखि पहिलेको नागरिकता र राहदानी प्रकरणको इख हुनसक्ने पूर्वप्रहरी अधिकारीहरु बताउँछन् ।

हुन त, गृहमन्त्री रविले मन्त्रालय सम्हालेको केही समयमै ७ वटा जिल्ला इन्चार्ज हेरफेर गर्दै प्रहरी प्रधान कार्यालय, नक्साललाई आफू चुप लागेर नबस्ने संकेत गरेका थिए । कतिसम्म भने जिम्मेवारी सम्हालेको डेढ महिना पुगेका एसपीको पनि सरुवा भएको थियो । यतिमात्र होइन, कोशी प्रदेश तालिम केन्द्र विराटनगरमा एसएसपी अभिनारायण काफ्लेलाई पठाएर केन्द्रका प्रमुख एसएसपी राजन अधिकारी काठमाडाँ तानिए । यसरी पछिल्लो समय भटाभट अवधि नपुगी इन्चार्ज झिक्दा प्रहरी संगठनमा नराम्रो सन्देश गएको छ । जसले एकार्तफ प्रहरीलाई निराश बनाएको छ भने अर्काेतर्फ प्रहरी संगठनको छवि समेत बिग्रिएको पूर्वप्रहरी अधिकारीहरु बताउँछन् ।

प्रहरी नियमावलीले इन्चार्जमा खटिएको प्रहरी कर्मचारी विशेष कारण विना एक वर्ष नपुग्दै सरुवा नगरिने उल्लेख छ । तर यसलाई गृहमन्त्रीले हेर्न छाडिसकेका छन् । उनलाई यस्तो नियमावलीले कुनै काम गरेको छैन । अरु त अरु रविले गरेको सरुवा बढुवा प्रकरणलाई प्रधानमन्त्री पुष्पकमल दाहाल र सत्तासारथी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि टुलुटुलु हेर्न बाहेक केहि गर्न सकेका छैनन् । जसको मनपेट पाएर रविले प्रहरीको ऐन र नियमावलीलाई बेवास्ता गर्दै बहकाउ र भनसुनकै आधारमा सरुवा बढुवा गर्दा ‘चेन अफ कमान्ड’मा समेत धक्का पुगेको देखिन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका