जोडिनुहोस
  • होमपेज
  • कोशीमा पूर्वबजेट तयारीबारे छलफल तीव्र

कोशीमा पूर्वबजेट तयारीबारे छलफल तीव्र

कोशी प्रदेश सरकारले आउँदो आर्थिक वर्ष २०८१ र ०८२ को पूर्व–बजेट तयारी तीव्र पारेको छ । पूर्वबजेट तयारीका सम्बन्धमा प्रदेश सरकारका सचिवहरूसँग छलफल भएको हो । कोशी प्रदेश सभाको अर्थ समितिले प्रदेश सभा सचिवालयमा हिजो प्रदेश सरकारका प्रमुख सचिव तथा अन्य मन्त्रालय र आयोगका सचिवहरूसँग पूर्व–बजेटको तयारीबारे छलफल गरेको हो ।

कोशीमा चालु आर्थिक वर्षका लागि तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले २०८० जेठ ३२ गते अध्यादेशमार्फत ३६ अर्ब २४ करोड रुपैयाँको बजेट सार्वजनिक गर्नुभएको थियो । यो बजेट अध्यादेश संसदमा टेबल भएर पनि पारित हुन नसकेपछि २०८० भदौको दोस्रो हप्तादेखि बजेट होलिडे शुरु भएको थियो ।

१२ दिनसम्मको बजेट होलिडेपछि पुनः भदौ २३ गते दोस्रो पटक संविधानको धारा १६८ को उपधारा ३ अनुसार मुख्यमन्त्री बन्नुभएका कार्कीले अर्को अध्यादेशबाट बजेट ल्याउनुभएको थियो । यो बजेटलाई प्रतिस्थापन गर्दै केदार कार्की नेतृत्वको सरकारले प्रदेश सभामा पेस गरेको प्रतिस्थापन विधेयक २०८० मङसिर १३ गते पारित भएको थियो ।

अब आउँदो आर्थिक वर्षका लागि २८ अर्ब रुपैयाँको हाराहारीमा बजेट ल्याउने तयारी भइरहेको प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव श्यामप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका