जोडिनुहोस
  • होमपेज
  • पार्टी विभाजनविरुद्ध अदालत जाने उपेन्द्र यादवको तयारी, सरकारलाई समर्थन कायमै

पार्टी विभाजनविरुद्ध अदालत जाने उपेन्द्र यादवको तयारी, सरकारलाई समर्थन कायमै

जनता समाजवादी पार्टी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी विभाजनविरुद्ध अदालत जाने बताउनुभएको छ ।

आज काठमाण्डौमा पत्रकार सम्मेलन गरेर अध्यक्ष यादवले पार्टी विभाजन गैरकानुनी, असंवैधानिक हुँदाहुँदै निर्वाचन आयोगले रातारात दल दर्ता गरेको भन्दै त्यसविरुद्ध अदालत जाने बताउनुभएको हो । पार्टी नेता अशोक राईले व्यक्तिगत स्वार्थका लागि सङ्घीयता, लोकतन्त्र, गणतन्त्र, मधेश र पहिचानको मुद्दालाई धरापमा पार्ने गरी पार्टी विभाजन गरेको यादवको आरोप छ ।

उहाँले भन्नुभयो, ‘गैरकानुनी, असंवैधानिक तरिकाबाट रातारात पार्टी दर्ता गरेको घोषणा गरियो । नेपालको इतिहासमा यति छिटो प्रमाणपत्र दर्ता गरेको पहिलो चोटि हो । त्यसमा कुनै वैचारिक आधार छैन । सैद्धान्तिक आधार छैन । योविरुद्ध हामी अदालतमा जान्छौँ ।’

अध्यक्ष यादवले जसपा नेपालले वर्तमान सरकार ढालेर नेपाली कांग्रेसको नेतृत्वमा अर्को सरकार बनाउन लागेको भन्ने भनाइ कपोलकल्पित, आधारहीन र प्रायोजित ढङ्गले चलाइएको अफवाह भएको बताउनुभयो । उहाँले सरकारलाई दिएको समर्थन यथावत् रहेको पनि उल्लेख गर्नुभयो ।

यादवले भन्नुभयो, ‘सरकारमा नै रहेका केही साथीहरूले, केही पार्टीका नेताहरूले जसपा नेपालले सरकार ढालेर अर्को सरकार बनाउँदैछ भन्ने कपोलकल्पित, कुनै आधार नभएका प्रायोजित ढङ्गले चलाइएको अफवाह थियो । त्यस किसिमको कुनै प्रयास पनि थिएन, आवश्यकता पनि थिएन । जसपा नेपाल अहिले पनि वर्तमान सरकारलाई समर्थन गर्छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका