जोडिनुहोस
  • होमपेज
  • जलेश्वर नगरपालिकाका मेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

जलेश्वर नगरपालिकाका मेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

जनकपुरधाम– महोत्तरीको जलेश्वर नगरपालिकाका मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

जलेश्वर नगरपालिकाका मेयर सुरेश साह सेनार, उपमेयर रौशन खातुन र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकाल सहित १२ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

जलेश्वर नगरपालिका–१ हाटबजार क्षेत्रमा भएको ढलानमा गुणस्तरहीन काम गरेर भ्रष्टाचार गरेको आरोपमा आयोगले मेयर, उपमेयर, वडा नं १ का वडाध्यक्ष अनिलकुमार झा, प्रमुख प्रशासकीय अधिकृत, सहित अरु कर्मचारी र उपभोक्ता समितिका पदाधिकारीहरू विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारले उक्त योजनामा भएको काम भन्दा ५ लाख ८४ हजार ६३७ रुपैयाँ बढी भुक्तानी भएको भन्दै त्यति रकम बिगो माग दाबी गरेको छ ।

भ्रष्टाचार मुद्दा लाग्ने अन्य कर्मचारीमा अधिकृत छैटौँ धिरेन्द्र झा, वरिष्ठ इन्जिनियर पवनकुमार झा, इन्जिनियर राकेशकुमार चौधरी र सव–इन्जिनियर दिपेशकुमार साह, कार्यपालिका सदस्य सोगरा खातुन, उपभोक्ता समितिका अध्यक्ष राकेशकुमार साह, सचिव सिकेन्द्र चौधरी र कोषाध्यक्ष संतोषी देवी रहेका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका