जोडिनुहोस
  • होमपेज
  • कोशीमा हिक्मत कार्की बने तेस्रो पटक मुख्यमन्त्री

कोशीमा हिक्मत कार्की बने तेस्रो पटक मुख्यमन्त्री

विराटनगर- कोशी प्रदेशमा नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्की तेस्रो पटक मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।

उनलाई प्रदेश प्रमुख परशुराम खापुङले बिहीबार मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् ।

नेता हिक्मत कार्कीले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम आफूलाई मुख्यमन्त्री पदमा नियुक्त गर्न प्रदेश प्रमुख परशुराम खापुङसमक्ष दाबी पेस गरेका थिए ।

त्यहीअनुसार खापुङले कार्कीको पक्षमा ५२ सांसदको सनाखत भइसकेकाले मुख्यमन्त्रीमा नियुक्त गरिएको बताए । उनले प्रदेश सभामा रहेका ९३ सांसदमध्ये ५२ अर्थात् बहुमत सदस्यको सनाखत भइसकेकाले कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको जानकारी दिए ।

प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार बुधबार साँझ सरकार गठनको आह्वान गरेका थिए । उनको आह्यवानपछि एमाले र माओवादी केन्द्रका ५२ जना सांसदको समर्थनमा कार्कीले दाबी पेस गरेका थिए।

यसअघि कार्की दुई पटक मुख्यमन्त्री भइसकेका छन् । २०७९ मंसिर ४ मा सम्पन्न प्रदेश सभाको निर्वाचनमा कुनै पनि दलले प्रदेशमा बहुमत पाउन नसक्दा पुस २४ मा एमाले नेता कार्की नेकपा माओवादी, जनता समाजवादी पार्टी, राप्रपा लगायतका दलहरूको समर्थनमा मुख्यमन्त्री बनेका थिए। तर बीचैमा माओवादी र जसपाले साथ छाडेपछि कार्की असार १५ मा पदमुक्त भएका थिए।

त्यसपछि असार २१ मा कांग्रेस नेता थापा मुख्यमन्त्री बनेका थिए। सभामुखलाई पनि हस्ताक्षर गर्न लगाएर मुख्यमन्त्री बनेका थापालाई साउन ११ मा सर्वोच्च अदालतले पदमुक्त गरिदियो।

लगत्तै सभामुख बाबुराम गौतमलाई राजीनामा दिन लगाएर साउन १६ मा थापा दोस्रोपटक मुख्यमन्त्री बने।

भदौ ४ मा विश्वासको मत लिने दिन उपसभामुख सृजना दनुवारलगायतका एमाले–राप्रपाका ८ जना ज्येष्ठ सदस्य अनुपस्थित रहे। सत्ता गठबन्धनले बैठकको अध्यक्षता गरेका इस्राइल मन्सुरीलाई पनि मुख्यमन्त्रीको पक्षमा मत दिन लगाएको थियो। बैठकको अध्यक्षता गरेका मन्सुरीको मतले पनि थापालाई टिकाउन सकेन।

यसैबीच मुख्यमन्त्रीका लागि कार्कीलाई जनता समाजवादी पार्टीले पनि समर्थन गरेको छ । कोशीमा जसपाका एक सांसद निर्मला लिम्बू छिन् । जसपाले समर्थन गरेसँगै कार्कीलाई समर्थन गर्ने सांसदको संख्या ५३ पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका