जोडिनुहोस
  • होमपेज
  • सय किलो तस्करी सुनको अनुसन्धान जिम्मा सीआईबीलाई दिन प्रधानमन्त्रीको निर्देशन

सय किलो तस्करी सुनको अनुसन्धान जिम्मा सीआईबीलाई दिन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहालले सय किलो तस्करी सुनको अनुसन्धान प्रहरीबाट गर्न निर्देशन दिएका छन् । सुन तस्करी प्रकरण संगठित अपराध र अन्तर्देशीय अपराध भएकोले त्यसको जरैसम्म पुग्ने गरी प्रहरीमार्फत अनुसन्धान गर्न प्रधानमन्त्री दाहालले निर्देशन दिएका हुन् । क्विन्टल सुन प्रकरणमा हाल राजस्व अनुसन्धान विभागमार्फत अनुसन्धान जारी छ ।

यो प्रकरणमा भन्सारका अधिकृतसहित तीन कर्मचारी, बेल्जियन, भारतीय र चिनियाँ गरी तीन विदेशी नागरिकसहित १८ जना पक्राउ परिसकेका छन् । साउन ३ बाट सुरु यो अनुसन्धान तस्करीका मूल नाइकेसम्म पुग्न सकेको छैन ।

विभागबाट भइरहेको अनुसन्धानले अपराधमा संलग्नको नेक्सन पत्ता लगाए पनि यो संगठित र अन्तरदेशीय अपराध भएकोले जरैसम्म पुग्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट अनुसन्धान हुनुपर्ने प्रधानमन्त्री दाहालको भनाइ छ । विभाग आफैं प्रधानमन्त्री मातहतको निकाय हो ।

हङकङबाट जहाजमा कार्गो गरी स्कुटरका ब्रेक सु भित्र लुकाएर ल्याइएको तस्करीको एक सय किलो सुन गत साउन २ मा विमानस्थल भन्सार जाँचपास पार गरेर सिनामंगल सडकमा पुगेपछि विभाग र सशस्त्र प्रहरीको संयुक्त टोलीले बरामद गरेको थियो । भन्सार जाँचपास गरिएका शंकास्पद सामान खोलेर हेर्दा ब्रेक सुभित्र लुकाइएको सुनसहित २ जना पक्राउ परेका थिए । त्यसपछि अघि बढेको अनुसन्धानका क्रममा तस्करीबाट त्यसअगावै त्यो भन्दा धरै परिमाणमा सुन भित्रिएर गिरोहले व्यवस्थापन गरिसकेको तथ्य भेटियो । त्यही क्रममा व्यापारी राकेशकुमार अडुकिया अनुसन्धानमा तानिएपछि फरार भए ।

अनुसन्धानकै क्रममा नेपालमा संदिग्ध रुपमा बस्दै आएका तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङ ठमेलबाट पक्राउ परे । त्यसअघि चिनियाँ र भारतीय एक–एक जना लाजिम्पाट र विमानस्थलबाट समातिए । ४ जना भन्सार एजेन्ट, रेडी ट्रेडका सञ्चालकसहित अरु १२ जना पनि पक्राउ परे । तर, सुन तस्करीका मूल लगानी कर्ता र खरिदकर्ताको पहिचान बाहिर आएको छैन ।

अहिलेसम्म काठमाडौंका विभिन्न स्थानमा छापा मारेर सुन ग्रल्ने ४ थान मेसिनसहितका सामान बरामद भएका छन् । ठमेल क्षेत्रको एक गोदाममा छापा मार्दा ६६ कार्टुन ब्रेक सुभित्र लुकाएर ल्याइएको सबै सुन मेसिनमा गालेर निकालिसकेको भेटिएको थियो भने टोखामा सुन गाल्ने कारखाना फेला परेको थियो ।

लाजिम्पाट र बालुवाटारका विभिन्न स्थानमा सुन तस्करीमा संलग्न चिनियाँ र भारतीय गिरोका सेल्टर फेला परेका थिए । कमलपोखरीमा पनि गिरोहले आश्रय लिने गरेको ठाउँ पत्ता लागेको थियो । तर, यो सबै पृष्ठभूमिमा विमानस्थलबाट पार गराइएको क्विन्टलबाहेक थप सुन अझै फेला पर्न सकेको छैन । सुन तस्करीमा पक्राउ परेका बेल्जियन नागरिक दावा छिरिङसँग नेपालका नेताहरुसगै उठबस रहेका विवरण पनि सार्वजनिक भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका