जोडिनुहोस
  • होमपेज
  • बेइजिङले पनि गर्‍यो प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणको घोषणा

बेइजिङले पनि गर्‍यो प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणको घोषणा

चीनको विदेश मन्त्रालयले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सात दिने भ्रमणको औपचारिक घोषणा गरेको छ । बिहीबार चीनको परराष्ट्र मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता माओ निङले प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण हुन लागेको विषयमा जानकारी दिएकी हुन् ।

नेपालले पनि बिहीबार नै परराष्ट्रमन्त्रालयमार्फत विज्ञप्ति जारी गरी प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणको औपचारिक घोषणा गरेको थियो । चीनले भने बिना कुनै सार्वजनिक विज्ञप्ति नियमित पत्रकार सम्मेलनमा प्रचण्डको भ्रमणको विषय सार्वजनिक गरेको हो । कूटनीतिक परम्पराअनुसार भ्रमणमा जान लागेको र हुन लागेको मुलुकले एकसाथ विज्ञप्ति जारी गर्ने भए पनि यसपटक चीनले फरक ढंगले प्रचण्डको भ्रमणबारे जानकारी सार्वजनिक गरेको हो ।

बिहीबार आयोजित पत्रकार सम्मेलनको सुरुवातमा चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले प्रचण्डको भ्रमणबारे जानकारी गराएकी थिइन् ।

‘प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २३ देखि ३० सेप्टेम्बरसम्म चीनको औपचारिक भ्रमण गर्नुहुने भएको छ । भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले हाङझाउमा १९ औं एसियाली खेलकुदको उदघाटन समारोहमा सहभागी हुने कार्यक्रम रहेको छ’, प्रवक्ता निङले भनेकी थिइन् ।

त्यसपछि चिनियाँ सरकारी सञ्चार माध्यम सीसीटीभीका प्रतिनिधिले ‘प्रधानमन्त्री प्रचण्डको भ्रमणबारे थप जानकारी दिन, चीनले नेपालसँगको अहिलेको सम्बन्धलाई कसरी हेरिरहेको छ भन्नेबारे जानकारी दिन र प्रचण्डको यो भ्रमणबाट चीनले के हासिल गर्ने आशा राखेको छ,’ भनेर प्रश्न राखेका थिए ।

सीसीटीभीका प्रतिनिधिले राखेको जिज्ञासाको जवाफमा विदेशमन्त्रालयकी प्रवक्ता माओले थप स्पष्ट पारेकी थिइन् ।

‘प्रधानमन्त्री प्रचण्डले धेरैपटक चीन भ्रमण गरी नेपाल–चीन सम्बन्धको विकासमा महत्वपूर्ण योगदान गर्नु भएको छ । आगामी भ्रमणका क्रममा राष्ट्रपति सी जिनपिङले उहाँसँग भेट गर्नुहुनेछ । प्रधानमन्त्री ली छ्याङ र अध्यक्ष झाओ लेजीले क्रमशः उहाँसँग वार्ता र भेटघाट गर्ने कार्यक्रम छ’, उनले भनिन्, ‘दुवै पक्षले परम्परागत मित्रतालाई प्रगाढ बनाउने, पारस्परिक लाभकारी सहयोग विस्तार गर्ने र पारस्परिक हितका अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मुद्दाहरूमा गहिरो विचार आदानप्रदान गर्नुहुनेछ ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका