जोडिनुहोस
  • होमपेज
  • झापामा रोकिएन शसस्त्र प्रहरीको अशुली धन्दा

झापामा रोकिएन शसस्त्र प्रहरीको अशुली धन्दा

झापा । सशस्त्र प्रहरी बलका केही घुमुवा प्रहरी ब्यापारीबाट घुस वापतको रकम असुल गर्न नपाएको झोकमा गुण्डागर्दीमा उत्रिएका छन् । बराह बहिनीबाट पुर्वी नाका काकडभिट्टामा खटिएका धुमुवाहरु खुलेआम गुण्डागर्दीमा उत्रिएका हुन् ।

डिआइजी अञ्जनी पोख्रेलले पूर्वी नाकामा खटाएका घुमुवाहरु देवीभक्त राई र दलबहादुर तामाङ्गको गैह्र ब्यवसायिक गतिबिधिले टोले दादाको छनक दिएको छ । घुमुवा खटिएका सहायक हवल्दारहरु देवीभक्त राई र दलबहादुर तामाङ्गले स्थानीय ब्यापारीसँग मासिक लिनुपर्ने घुस वापतको रकम ढिला गरेको भन्दै कुटपिट र लछारपछार गरेको घटना सार्वजनिक भएको छ ।

गत शनिबार मेचीनगर–३ स्थित धर्धरे नजिकै केही महिला र दुई पूरुषहरुविच भनाभन भएको थियो । सो लफडा अरु केही नभई सहायक हवल्दारद्वय देवीभक्त राई र दलबहादुर तामाङ्गले तस्करी गराउन भनि लिएको ५५ हजार रुपैया महिना सकिएसँगै सकिएको र त्यतिनै रकम अग्रिम भुक्तानी नगरेवापत उनिहरुको सामान पक्राउ गरेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।

महिना मरेकोले उनीहरुको तस्करीको सामान समातेको र सोही सामान बचाउनको लागि उक्त स्थानमा समस्या उत्पन्न भएको स्थानिय रमेश भुर्तेले जानकारी दिए । घुमुवा सहायक हवल्दारहरुले अरुबेला आफैँ स्कटिङ्ग गरी तस्करीको सामान धुलाबारीसम्म लान सहयोग गरिदिने गरेकोमा उक्त दिन समात्न खोजेपछि पोके तस्करीमा संलग्नहरुसँग भनाभन शुरु भएको थियो ।

लफडा शुरुभएपछी घुमुवा देवीभक्त राईले एक महिलाको घुडाँमा छुरी समेत प्रहार गरेका छन् । महिलामाथी हातपात गर्दै अपशब्द प्रयोग गर्न थालेपछी उनिहरुलाई स्थानिय गाँउलेहरुले घेरेर राखेका थिए । काँकरभिट्टाका युवा उपकार प्रधानको सहयोगमा घुमुवा सहायक हवल्दारहरु त्यहाँबाट उम्कन सफल भएका थिए ।

घटना यतिमा मात्र सिमित रहेन । सोही घटनामा उपस्थित रहेका स्थनीय मन्दिप राजवंशीलाई काँकरभिट्टामा सोही दिन रातको ९ः३० वजे सहायक हवल्दार राई र तामाङ्ग सहित नकलबन्दा बोडर आउटपोष्टका सशस्त्र प्रहरी नायब निरिक्षक युवराज खतिवडाले गुडिरहेको बाइकबाट तानेर लडाए । उनको टाउकोमा हतियार तेर्साएर डिआइजिले उठाउनु भनेको छ भन्दै कुटपिटमा उत्रिए ।

त्यहाँबाट फुत्कीएका मन्दिप राजवंशीले अन्य साथीहरुलाई घटनाको बारेमा जानकारी गराए र आइतबार दिउसो इलाका प्रहरी कार्यालयमा उजुरी दिन जाने क्रममा काँकरभिट्टा स्थित भट्टराई चोकमा पुनः देवीभक्त राइले मन्दिप राजवंशीको बाटो छेके । सबै देखिरहेका उनका साथीहरु उक्त स्थानमा आएपछि राई दौडदै मेची भन्सार परिसरमा पसे । उक्त क्रममा राइको घुँडामा चोट समेत लागेको पाइएको छ ।

घटनाको विषयमा बुझ्न आएका काँकरभिट्टा गुल्मका डिएसपी रोहित घिमिरेकै अगाडी उक्त देवीभक्त राईले इलाका प्रहरी कार्यालय परिसरमा महिलाहरुलाई देखाँउदै हातको इसाराले अश्लिल संकेत देखाएका थिए । घटनामा उपस्थित पत्रकार मुक्ती पौडेलले राईले अस्वभाविक अश्लिल हर्कत गरेपछि सशस्त्र प्रहरीको गतिविधि नै समाजको लागि अपच्य भएको गुनासो डिएसपी घिमिरेलाई गरेका थिए ।

सई खतिवडा र घुमुवा हवल्दारको शंकास्पद गतिविधि
काँकरभिट्टा गुल्मको एरियामा पर्ने बद्री टोल र चर्च क्षेत्रबाट तस्करी गर्नको लागि स्थानिय व्यपारी राजन खड्का र रञ्जित कट्टेलको लाइन खाएको आरोप डिआइजिका घुमुवाहरुमाथि छ । खड्काले भारतबाट कपडा लगायतको वस्तुहरु तस्करीको रुपमा नेपाल ल्याउन देवीभक्त राईलाई मोटो रकम दिएको बुझिएको छ ।

यसको लागि रातको समयमा उक्त सामानहरुलाई घुमुवा सहायक हवल्दार दलबहादुर तामाङ्ग, देवीभक्त राई र जिल्लाबाट असइ प्रेम बस्नेतको कमाण्डमा खटिएको टोलिले स्कटिङ्ग गरेर नाका कटाउने गरेको भिडियो समेत प्राप्त भएको छ । उक्त भिडियोमा काँकरभिट्टा गुल्मबाट असुलिमा खटिएका दुई घुमुवा प्रहरी समेत देखिएका छन् ।

उक्त घटनाको पछाडी सशस्त्र प्रहरी नायब निरिक्षक युवराज खतिवडा र बराह बाहिनीबाट खटिएका घुमुवाहरुको मुख्य भुमिका रहेको बुभिएको छ । उनिहरुलाई मासिक २ लाख रुपैँया दिएको जानकारी छ । त्यस्तै नकलबन्दा विओपीका सई युवराज खतिवडाले स्थनिय व्यवारीहरुबाट गोरु, बाख्रा तथा सुँगुरको पाठा कटाउन भनी मासिक रुपमा रकम लिने गरेको पाइएको छ ।

डिआइजीको घुमुवा सधैँ विवादमा
घटना नं. १
डिआइजी अञ्जनी कुमार पोख्रेलले पाठाएका घुमुवाहरु सधैँ विवादमा आउने गरेका छन् । गत जेष्ठ ३० गते रातको समयमा डिआइजीले पठाएका घुमुवा सशस्त्र प्रहरी निरिक्षक नवप्रभाव राईले नकलबन्दा बोडर आउटपोष्टका सबै प्रहरी र कर्मचारीलाई मेची नदिमा चोबाल्दै कुट्दै गरेको घटना सार्वजनिक भएको थियो । उक्त घटना डिआइजी पोख्रेलले उनिहरुलाई असिमित अधिकार दिएको कारण भएको थियो । उक्त घटनाले सशस्त्र प्रहरीको छविमा समेत प्रश्न उठाएको थियो ।

घटना नं. २
गत साउन ३० गते झापा बाहुण्डाँगी स्थित बौद्धमोडमा रातको समयमा तस्करीको सामान बरामद गरेको क्षेत्रको टोलीले सामान छोडिदिए वापत २ लाख रुपैया लिएको घटना बाहिर आएको थियो । उक्त घटनामा ७ पोका कपडा मध्ये ५ पोका छोडिदिएको र तस्करीमा संलग्न चतुरे नाम गरेका व्यक्तिले सशस्त्र प्रहरीका सहायक हवल्दार विकास श्रेष्ठलाई २ लाख बुझाएको भिडियो तस्कारीमा प्रयोग भएको गाडिका चालकले लिक गरेका थिए । भिडियोमा उक्त रकम जिल्लाका एसपीलाई समेत दिनुपर्ने भनेको सुनिएको छ । घुमुवा श्रेष्ठलाई समेत डिआइजीले पाठाएका थिए । तर, यसमा संलग्न घुमुवा श्रेष्ठ डिआईजिकै संरक्षण रहेको बुझिएको छ

घटना नं. ३
डिआइजीले पठाएको घुमुवा भन्दै एक टोलीले झापा बिर्तामोड स्थित बिर्तासिटि अस्पतालमा काँकरभिट्टाका महिला व्यापारीहरुसँग १ लाख ५० हजार रुपैया लिएको कुरा समेत सतहमा आएको छ । धुलाबारी देखि विर्तामोडसम्मको जिम्मा बिर्तामोडका तस्कर लक्ष्मण कट्टेलले लिने र भारत देखि धुलाबारी सम्म आफूँहरुले दुःख नदिने भन्दै विकास श्रेष्ठकै अगुवाईमा रकम लिइएको थियो । यता, यो सबै घटना थाहा पाएर पत्रकारलाई सुनाएको भन्दै बिकासकै निर्देशनमा मन्दिप राजबंशीलाई फसाउन शसस्त्र प्रहरीको पुरै संगठन नै लागेको जानकारहरु बताउँछन् ।

घटना नं. ४
असोज ६ गते शनिबार झापा मेचीनगर ३ मा महिला व्यवसायीहरु र डिआइजीका घुमुवाहरु विच झगडा भएको छ । उक्त झगडामा घुमुवा देवीभक्त राई र दलबाहादुर तामाङ्गले महिलाहरुलाई हातपात गरेको र छुरीले हान्दा एक महिलाको घुँडामा चोट समेत लागेको छ । उक्त घटना भएकै दिन सोही घुमुवाले काँकरभिट्टामा एकजना स्थानियलाई गुण्डागर्दी शैलीमा कुटपिट गरेका थिए ।

कुनै समय सिमामा तस्करी गराउनकै लागि बनाइएको संगठनको अनुभुति हुने सशस्त्रप्रहरी बल नेपालको छविमा डिआइजी अञ्जनी पोख्रेल आएपछि केहि सुधार भएको थियो । उनले सिमावर्ती क्षेत्रबाट हुने तस्करी नियन्त्रणमा अपत्यारीलो भुमिका निर्वाह गरे । तर, उनकै निर्देशनमा आउने घुमुवाहरु भने सँधै विवादमा आइरहे । कारण हो, घुमुवाले अवैध असुली र ड्युटीका कर्मचारीले नजराना उठाउनु ।

पोख्रेलले धरातलमा के भइरहेको छ भनि नबुझ्नु र विश्वास पात्रहरुले नै उनको नीतिको धज्जी उडाउनु हो । बराह बाहिनीबाट आउने घुमुवाहरु कस्लाइ पठाउने भन्ने निर्णय वा घुमुवाको छनोट सशस्त्र प्रहरी निरिक्षक प्रेमकुमार राइले गर्ने गरेको बुझिएको छ । राई यसअघि नै काँकरभिट्टामा लामो अवधी इन्चार्ज बसेको र करोडौँ असुली गरेको अनुभव उनमा छ ।

त्यसैले कहाँ कोबाट पैसा उठाउने भन्ने कुराको राम्रो ज्ञान भएका इन्स्पेक्टर राईले डिआइजिको नाममा आफ्ना विश्वासपात्रहरु पूर्व पठाउने गरेको बराह बाहिनी पकलीका एक प्रहरी अधिकृतले जानकारी गराए । उनका अनुसार डिआइजीलाई यसबारे ज्ञान नभएको र राईकै रिपोर्टिङ्गलाई विश्वास गरेको कारण सशस्त्र प्रहरीबल बराह बाहिनी पटक–पटक विवादमा आइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका