जोडिनुहोस
  • होमपेज
  • भारोत्तोलनमा विशालको दुर्लभ कीर्तिमान

भारोत्तोलनमा विशालको दुर्लभ कीर्तिमान

१९ औँ एसियाली खेलकुदको भारोत्तोलनमा नेपालका विशालसिंह विष्टले दुर्लभ कीर्तिमान बनाएका छन् । चियोसन स्पोर्ट्स सेन्टर जिम्न्याजिममा आज बिहीवार भएको पुरुष ९६ केजी तौल समूहमा विशालले ३ वटा राष्ट्रिय कीर्तिमानसहित कुनै पनि नेपाली खेलाडीले कुलमा पहिलो पटक ३०१ केजी वजन उठाउने अर्को दुर्लभ कीर्तिमान पनि बनाए । यसअघि कुनै पनि नेपाली भारोत्तोलकले कुनै पनि तौल समूहमा जम्मामा ३०० केजीसम्मको भार पनि वहन नगरेको भारोत्तोलन टिमका व्यवस्थापकसमेत रहेका नेपाल भारोत्तोलन सङ्घका अध्यक्ष रामकृष्ण श्रेष्ठले जनाएका छन् ।

विशालले स्न्याचमा १३३ केजी, क्लिन एन्ड जर्कमा १६८ केजी र कुलमा ३०१ केजी भार वहन गर्दै आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमानमा सुधार गरे । स्न्याचमा १२६ केजी, क्लिन एन्ड जर्कमा १६५ केजी र कुलमा २९१ केजीको राष्ट्रिय कीर्तिमान विशालकै नाममा थियो । उनले यो कीर्तिमान केही हप्ताअघि साउदी अरेबियाको रियादमा भएको विश्व भारोत्तोलन च्याम्पियनशिपमा बनाएका थिए ।

स्न्याचमा भने विशालले दोस्रो लिफ्टमा नै १२७ केजी तौल उठाउँदै राष्ट्रिय कीर्तिमान स्थापित गरिसकेका थिए । पहिलो लिफ्टमा विशालले १२१ केजी तौल उचालेका थिए । त्यस्तै क्लिन एन्ड जर्कमा विशालले पहिलो लिफ्टमा १६१ केजी वजन उठाएका थिए । दोस्रो लिफ्टमा विशालले १६८ केजी वजन उचालेर राष्ट्रिय कीर्तिमान रचेपछि तेस्रो लिफ्टमा कीर्तिमान सुधार गर्ने प्रयासमा १७५ केजी तौल लोड गर्न लगाएका थिए । त्यसमा उनी सफल भएनन् । नेपालबाट ५ खेलाडी सहभागी भारोत्तोलनमा पर्सि शनिवार सागर भण्डारीले चुनौती प्रस्तुत गर्नेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका