जोडिनुहोस
  • होमपेज
  • कोशी प्रदेशसभामा बिहीबार मुख्यमन्त्रीसँग प्रश्नोत्तर

कोशी प्रदेशसभामा बिहीबार मुख्यमन्त्रीसँग प्रश्नोत्तर

कोशी प्रदेशसभा बैठकमा पहिलो पटक मुख्यमन्त्रीसँग प्रश्नोत्तर गरिने भएको छ । प्रदेशसभाको पहिलो कार्यकालमा प्रश्नोत्तरको अभ्यास भएको थिएन ।

दोस्रो कार्यकालको पाँचौं मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभा सदस्यसँग प्रश्नोत्तकर कार्यक्रम राखेका हुन् । कार्की भन्दा अगाडि एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की र कांग्रेस संसदीय दलका नेता उद्धव थापा दुई–दुई पटक मुख्यमन्त्री बनेका थिए ।

प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीका अनुसार बिहीबारको बैठकमा मुख्यमन्त्रीसँग प्रश्नोत्तरको कार्यसूची छ । मुख्यमन्त्रीलाई प्रश्न गर्नका लागि प्रदेशसभा सचिवालयमा आठ जनाले प्रश्न टिपाएका छन् । ‘प्रदेशसभा बैठकमा प्रश्नउत्तरको पहिलो अभ्यास हुँदैछ’, उनले भने, ‘आठ जना माननीयले सचिवालयमा नाम टिपाउनुभएको छ ।’

प्रदेशसभा सचिवालयले प्रश्नह मुख्यमन्त्री केदार कार्कीलाई पठाइसकेको छ । मुख्यमन्त्रीले जवाफ दिने क्रममा प्रश्नकर्ताले पूरक प्रश्न पनि गर्न पाउनेछन् ।

संसदमा पहिले नाम टिपाउनेले पहिला बोल्ने

कोशी प्रदेशसभा बैठकको शून्य समयमा अब जसले पहिला नाम टिपाउँछ उसले नै पहिला बोल्न पाउने भएको छ । यसअघि वर्णानुक्रमका आधारमा बोल्ने दिने गरिएको थियो । कार्यव्यवस्था परामर्श समितिको बैठकमा पहिला नाम टिपाउनेले पहिला नै बोल्न पाउने व्यवस्था गरिएको सचिव पराजुलीले जानकारी दिए ।

विशेष समयमा पनि यसअघि दलको तर्फबाट एउटा बैठकमा एक जनाले मात्रै बोल्दै आएका थिए । अब भने दलले मागेको आधारमा विशेष समय दिने र त्यसमा दलका एक भन्दा बढी प्रदेशसभा सदस्यले बोल्न पाउने प्रदेशसभा सचिवालयले जनाएको छ ।

संसदीय दलको हैसियतका आधारमा बोल्नका लागि समय दिइने तयारी छ । प्रदेशसभा बैठकमा बोल्नका लागि नयाँ व्यवस्था भएको एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए ।

‘शून्य समयमा बोल्नका लागि पहिला नाम टिपाउनेले पहिला बोल्न पाउने व्यवस्था गरियो’, उनले भने, ‘विशेष समयमा दलको हैसियत अनुसार समय दिने र सो अवधिमा एक भन्दा बढीले बोल्न पाउने व्यवस्था गरियो, जुन प्रदेशको हकमा नयाँ हो ।’ प्रदेशमा शून्य समयमा बोल्नका लागि तीन मिनेट र विशेष समयमा बोल्नका लागि १० मिनेटको समय व्यवस्था छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका