जोडिनुहोस
  • होमपेज
  • अमेरिकी राष्ट्रपति बाइडेन र चिनियाँ समकक्षी सीबीच भेटवार्ता

अमेरिकी राष्ट्रपति बाइडेन र चिनियाँ समकक्षी सीबीच भेटवार्ता

अमेरिकाका राष्ट्रपति जो बाइडेन र चीनका समकक्षी सी जिनपिङबीच भेटवार्ता भएको छ। एसिया -प्रशान्त आर्थिक सहयोग (एपेक) को शिखर सम्मेलनमा भाग लिन अमेरिका ‍पुगेका राष्ट्रपति सीले बुधबार क्यालिफोर्नियाको सन फ्रान्सिस्कोमा राष्ट्रपति बाइडेनसँग भेटवार्ता गरेका हुन्।

भेटपछि पत्रकारहरूसँगको कुराकानीमा राष्ट्रपति बाइडेनले राष्ट्रपति सीसँगको भेट फलदायी भएको बताएको द न्युयोर्क टाइम्सले उल्लेख गरेको छ।अमेरिका र चीनबीच ताइवान विवाद, दक्षिण चीन सागरमा सेनाको गतिविधि, इसराइल-हमास युद्ध, युक्रेन युद्ध तथा अमेरिकी चुनावमा चीनले हस्तक्षेप गरेको जस्ता विभिन्न विवाद छ।

दुई देशका राष्ट्रपतिको भेटवार्ताबाट दुई देशबीच चिसिएको सम्बन्धमा केही सन्तुलन आउने आकलन गरिएको छ। राष्ट्रपति बाइडेनले पनि दुई शक्तिशाली देशबीचको सम्बन्धमा भविष्यमा आउन सक्ने विवाद संवादमार्फत समाधान गर्न दुबैजना सकारात्मक रहेको बताएका छन्।

भेटमा रूस-युक्रेन युद्ध र इसराइल-हमास युद्धका बारेमा दुई राष्ट्रपतिले छलफल गरेको बताइएको छ। छलफलमा राष्ट्रपति बाइडेनले अमेरिका इसराइलको पक्षमा रहेको बताएको पनि न्युयोर्क टाइम्सले उल्लेख गरेको छ।

गजाको अल-सिफा अस्पतालमा इसराइली सेना प्रवेश गरेको विषयमा पनि बाइडेनले इसराइलको पक्षमा अभिव्यक्ति दिएका छन्।

‘हमासले अस्पताललाई आफ्नो मुख्यालय बनाएको हुनसक्छ ‍जहाँ हतियार र युद्धका लागि सामग्री राखिएको शंका छ,’ बाइडेनको भनाइ उद्धृत गर्दै न्युयोर्क टाइम्सले लेखेको छ। भेटपछि बाइडेनले चीनका राष्ट्रपति सीलाई पुनः ‘तानाशाह’को संज्ञा दिएका छन्। गत जुनमा बाइडेनले सीलाई तानाशाहको संज्ञा दिएका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका