जोडिनुहोस
  • होमपेज
  • रुसी सेनामा भर्ती हुने नेपालीको सङ्ख्या २ सय रहेको जानकारी आएको छ प्रधानमन्त्री

रुसी सेनामा भर्ती हुने नेपालीको सङ्ख्या २ सय रहेको जानकारी आएको छ प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रुसी सेनामा भर्ती हुने नेपालीको सङ्ख्या २ सय जना रहेको औपचारिक जानकारी आएको बताउनुभएको छ ।

आज सोमवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा प्रेस सेन्टर नेपालका पदाधिकारीको बैठकमा प्रधानमन्त्री प्रचण्डले कोही भिजिट भिसा, कोही अध्ययन भिसामा रुसमा पुगेका २ सय जना नेपाली रुसी सेनामा भर्ती भएको जानकारी पाएको र अहिले उनीहरूको अध्ययन र खोजी भइरहेको बताउनुभयो । उहाँले इजरायलमा प्यालेस्टिनी विद्रोही समूह हमासको आक्रमणमा बेपत्ता भएका विपिन जोशीको फिर्तीका लागि अन्तिम प्रक्रियातिर बढिरहेको पनि उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘रुसी सेनामा २ सय जना नेपाली भर्ना भएको औपचारिक जानकारी आएको छ । उनीहरूको अध्ययन, खोजी भइरहेको छ । कोही पढ्नका लागि, कोही भिजिट भिसामा गएका नेपाली रुसी सेनामा भर्ती भएका रहेछन् । रुसी सेनामा भर्ती भएका नेपाली केही युक्रेनको कब्जामा रहेका र केही युक्रेनी सेनाको कब्जामा रहेका जानकारी आएको छ ।’

यस्तै प्रधानमन्त्रीले सरकारमाथि प्रहार गर्ने षड्यन्त्र भैरहेको समेत बताउनुभएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन लागेपछि सरकारमाथि अर्को ठाउँबाट प्रहार गर्न खोजिएको दाबी गर्नुभयो । उहाँले राम्रा कामलाई दबाउने र हुँदै नभएका विषयलाई प्रचार गर्ने प्रवृत्ति हाबी भएको टिप्पणी गर्नुभयो ।

प्रचण्डले एनसेलको शेयर खरिद–बिक्री प्रकरणलाई लिएर गलत व्याख्या र प्रचार गरिएकोमा असन्तुष्टिसमेत जनाउनुभएको छ । नागरिकलाई तथ्यगत र सही सूचना दिनुपर्ने उहाँको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका