जोडिनुहोस
  • होमपेज
  • खोटाङका भूमिहीनलाई निस्सा वितरण

खोटाङका भूमिहीनलाई निस्सा वितरण

खोटाङमा भूमिहीन सुकुम्बासी, दलित र अव्यवस्थित बसोवासीलाई जग्गा उपलब्ध गराउन निस्सा वितरणको काम सुरु गरिएको छ । दश स्थानीय तह रहेको जिल्लामा भूमि प्राप्तिका लागि परेका निवेदनलाई लगत प्रणालीमा प्रविष्ट गर्ने काम सकिएलगत्तै निस्सा वितरणको काम थालिएको हो । राष्ट्रिय भूमि आयोग जिल्ला समिति खोटाङले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको दिक्तेल, लफ्याङ र सोल्माका भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोवासी गरी ६ जनालाई निस्सा वितरण गरेको छ । पन्ध्र वडा रहेको दिक्तेल रूपाकोट मझुवागढीमा ५१ भूमिहीन सुकुम्बासी, १६ भूमिहीन दलित र दुई सय अव्यवस्थित बसोवासी छन् ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा सात सय ९२ जना लाभग्राही रहेको राष्ट्रिय भूमि आयोग खोटाङका अध्यक्ष सुरेश राईले जानकारी दिए । जिल्लाभर एक सय ५२ भूमिहीन सुकुम्बासी, ४९ भूमिहीन दलित र पाँच सय ९१ अव्यवस्थित बसोबासी छन् । खोटेहाङ, जन्तेढुङ्गा, बाराहापोखरी गाउँपालिका र दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा लाभग्राहीको नाममा जग्गा छ(छैन भनी जग्गा प्रमाणीकरणको काम सम्पन्न गरिसकेको अध्यक्ष राईले बताए ।

खोटेहाङमा आठ भूमिहीन सुकुम्बासी, पाँच भूमिहीन दलित र १० अव्यवस्थित बसोबासी, केपिलासगढीमा ६ भूमिहीन दलित र ६ अव्यवस्थित बसोवासी, जन्तेढुङ्गामा १५ भूमिहीन सुकुम्बासी र ३१ अव्यवस्थित बसोबासी, हलेसी तुवाचुङमा १४ भूमिहीन सुकुम्बासी, आठ भूमिहीन दलित र एक सय ४० अव्यवस्थित बसोवासी तथा बाराहापोखरीमा १८ भूमिहीन सुकुम्बासी र ३७ अव्यवस्थित बसोबासी रहेका छन् ।

यस्तै रावाबेँसी गाउँपालिकामा १५ भूमिहीन सुकुम्बासी र ४२ अव्यवस्थित बसोबासी, दिप्रुङ चुइचुम्मा गाउँपालिकामा १९ भूमिहीन सुकुम्बासी, चार भूमिहीन दलित र ५२ अव्यवस्थित बसोबासी, ऐँसेलुखर्कमा ६ भूमिहीन सुकुम्बासी र चार भूमिहीन दलित तथा साकेला गाउँपालिकामा ६ भूमिहीन सुकुमबासी, ६ भूमिहीन दलित र ७३ अव्यवस्थित बसोवासी छन् । खोटेहाङले सम्पूर्ण वडामा लाभग्राहीलाई निस्सा वितरण गरेर सातदिने दाबी विरोधसम्बन्धीको सूचना जारी गरेको छ ।

भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई जग्गा प्राप्तिबापत राजस्व नलाग्ने तर अव्यवस्थित बसोबासीलाई आयआर्जन, सम्पत्ति, जग्गाको प्रकृति, जग्गाको क्षेत्रफल बसोबासको मूल्याङ्कनलगायत सम्पूर्ण सुविधालाई ध्यानमा राखेर मापदण्ड निर्धारण गरिएको आयोगले जनाएको छ ।

भूमिहीन दलित र सुकुम्बासीका लागि हिमाल र पहाडमा आवास निर्माणका लागि १० आना दुई पैसा तथा खेतीपाती गर्न पाँच रोपनी १४ आना एक पैसा जग्गा उपलब्ध गराइने आयोगले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका