जोडिनुहोस
  • होमपेज
  • माओवादी केन्द्रको केन्द्रीय कमिटीमा ३५ जना थपिँदै

माओवादी केन्द्रको केन्द्रीय कमिटीमा ३५ जना थपिँदै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय कमिटीको संख्या अझै बढ्ने भएको छ । बुधबारदेखि काठमाडौंमा सुरु हुन लागेको केन्द्रीय कमिटी बैठकले नयाँ ३५ जनालाई केन्द्रीय कमिटीमा मनोनीत गर्ने निर्णय गर्न लागेको छ ।

माओवादी केन्द्रको अहिले केन्द्रीय कमिटीमा केन्द्रीय सदस्य ३ सय ८५ र वैकल्पिक केन्द्रीय सदस्य १ सय ९८ जना रहेका छन् । माओवादी केन्द्रका एक पदाधिकारीका अनुसार केन्द्रीय कमिटीमा महिलाको ३३ प्रतिशत संख्या नरहेकाले मनोनीत गरेर सो संख्या पूरा गर्न लागिएको हो । केन्द्रीय सदस्यमा मनोनीत हुनेमा केही पार्टी एकीकरणबाट आएका नेता पनि रहेका छन् ।

‘३५ जना केन्द्रीय सदस्य मनोनीत हुन्छ, पार्टीमा ३३ प्रतिशत महिलाको संख्या नभएकाले मनोनीत गरेर सो संख्या पूरा गरिनेछ, साथै यसमा केही पार्टी एकीकरणबाट आएका नेता पनि हुनुहन्छ, अध्यक्ष कमरेड प्रचण्डले यसको अन्तिम टुंगो लगाउनुहुन्छ, यसमा केही घटबढ पनि हुनसक्छ,’ ती पदाधिकारीले भने ।

पार्टीको विशेष महाधिवेशन स्थगित गर्दै मंसिरमा गरिने विधान महाधिवेशन’समेत केन्द्रीय कमिटीमा छलफल हुनेछ । पार्टीलाई सशक्त एवं बलियो बनाउँदै सांगठनिक रूपमा पार्टीलाई सुदृढ गर्ने अभियानमा माओवादी केन्द्र अगाडि बढेको बताइएको छ ।

बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन पेस गर्ने र सो प्रतिवेदनमा समूहगत छलफल हुने एजेन्डा पदाधिकारी बैठकले तय गरिसकेको छ । सांगठनिक, पछिल्लो राजनीतिक, सरकार, समाजवादी मोर्चालगायतका विषयमा प्रचण्डले प्रतिवेदनलाई अन्तिम रूप दिएका छन् ।

माओवादी केन्द्रका सचिव गणेश साहले पार्टी बैठकमा विधान महाधिवेशन, विभिन्न पार्टीसँग एकता भएपछि आएका नेतासहित अन्य नेताको जिम्मेवारी बाँडफाँट, समाजवादी मोर्चा, डा। बाबुराम नेतृत्वको नेपाल समाजवादी पार्टी, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालगायतका सँग एकता, संघीय सरकार र प्रदेश सरकारको कामको समीक्षालगायत विषयमा केन्द्रीय कमिटीमा छलफल हुने बताए । यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका