जोडिनुहोस
  • होमपेज
  • गोकर्णेश्वर मेलाको तयारी पूरा

गोकर्णेश्वर मेलाको तयारी पूरा

काठमाडौं । प्रत्येक वर्ष भाद्र कृष्ण औँशीका दिन राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा लाग्ने मेलाको सबै तयारी पूरा भएको छ । बाबुको मुख हेर्ने दिनका रुपमा प्रचलित यस पर्वका दिन बाबु नहुनेहरूले विभिन्न पवित्रस्थानमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिने वैदिक सनातनी परम्परा छ ।

यसै अनुसार गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा यही भदौ २८ गते बिहीबार लाखौँ भक्तजन पितृप्रति सम्मान प्रकट गर्न आउँदै छन् । मेलाका लागि लागि मंगलबारदेखि तयारी गरिएको छ । उत्तरगया भनेर चिनिने गोकर्णेश्वर महादेव मन्दिर परिसरमा पितृ सम्मान दिवसको मेलाका लागि सबै तयारी पूरा भएको मन्दिर क्षेत्र प्रबन्ध समितिको अध्यक्षसमेत रहेका गोकर्णेश्वर नगरपालिका–४ का वडाध्यक्ष जयराम महतले जानकारी दिए । मेलाका लागि सात उपसमिति गठन गरेर तयारी गरिएको छ ।

मन्दिर परिसरमा बाबुको सम्मान गर्न भक्तजन आउने भएकैले यो औँशीलाई गोकर्णे औँशीका नामले पनि चिनिन्छ । यस दिन गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बाबुको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेको भीड लाग्छ । मेला व्यवस्थापन गर्न आजैदेखि २०० जना स्वयंसेवक परिचालन गरिएको जानकारी पनि उनले दिए । मेलाका लागि बिहीबार नेपाल मेडिकल कलेज र माकालबारी सानो पुल क्षेत्रमै सार्वजनिक यातायात रोकी मन्दिर क्षेत्रमा प्रवेश गर्न नदिने गरी तयारी भएको समितिले जनाएको छ ।

यस अवसरमा रसुवाको वेत्रावती, देवघाटलगायत दोभान र त्रिवेणीमा पनि पितृप्रति श्रद्धा भक्तिसाथ श्राद्ध, तर्पण गर्ने भक्तजनको लर्को लाग्छ । ‘पितृदेवो भव’ भन्ने धार्मिक मान्यताअनुरूप यस दिन छोराछोरीले आफ्ना जीवित बाबुलाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाइ आशीर्वाद प्राप्त गरेमा सुख मिल्छ । मृत बाबुका नाममा भने गोकर्णेश्वरलगायत तीर्थस्थलमा गई श्रद्धाभक्तिपूर्वक तर्पण, पिण्डदान र सिदादान गरिन्छ ।

यस दिन थोरै दान गरेपनि हजारौँ गुणा बढी फल पाइने भएकाले पुण्य पर्व भनी शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । यस दिन घर घरमा पवित्र कुश भित्रा्याएर कुशे औँशी पर्व पनि मनाइन्छ । वर्षभरि देवकार्य तथा पितृकार्यलगायत धार्मिक क्रियाकलापमा प्रयोग गरिने कुश यसै दिन वैदिक मन्त्रोच्चारणपूर्वक छेदन गरी घरमा राखिन्छ । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पु¥याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन् । सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न गर्नुभएको शास्त्रीय मान्यता छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका