जोडिनुहोस
  • होमपेज
  • वीर अस्पतालमा ६३ दरबन्दी थपियो, आफ्ना मान्छे राख्न मन्त्रीको दबाब

वीर अस्पतालमा ६३ दरबन्दी थपियो, आफ्ना मान्छे राख्न मन्त्रीको दबाब

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सको सिनेट बैठकले नर्स र पारामेडिक्सका गरी ६३ वटा थप दरबन्दी थप गरेको छ । आइतबार सहकुलपतिसमेत रहेका स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतको अध्यक्षतामा बसेको सिनेट बैठकले ६३ दरबन्दी थप गरी तत्काल करारमा कर्मचारी राख्ने निर्णय गरेको हो ।

बैठकले नाक, कान, घाँटीतर्फ स्पीच थेरापीका लागि एक जना अडियोलोजिष्ट, रेडियोग्राफर एक्सरे गर्ने पाँच जना, एनेस्थेसिया सहायक पाँच जना, ल्याब टेक्निसियन पाँचौं तह पाँच जनाको दरबन्दी स्वीकृत गरेको छ ।

यस्तै केही फार्मेसी सहायक, ३० जना स्टाफ नर्स, इलेक्ट्रिसियन ४ जना, प्लम्बर ६ जना, चालक, सहायक गरी १० जनाको दरबन्दी पनि स्वीकृत गरेको छ ।

न्याम्समा तीन जना सिनेट सदस्य थपिनुका साथै तीन जनालाई प्राज्ञिक परिषदमा नियुक्त गरिएको स्रोतले जनाएकव छ । थपिएका नयाँ सिनेट सदस्यमा पूर्व राजदूत प्रा डा चोपलाल भुसाल, राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख डा बद्री रिजाल र कोशी अस्पतालका चिकित्सक डा दीपक सिग्देल रहेका छन् ।

त्यसैगरी प्राज्ञिक परिषद्मा प्रा डा अजित रायामाझी, प्रा डा दीपेन्द्र श्रेष्ठ र प्रा डा सरोज शर्मालाई नियुक्त गरेको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतको निर्देशनमा गत १५ असोजमा बसेको कार्यकारी परिषद्ले १८५ जना नर्ससहित २७६ जना कर्मचारीलाई २१ असोजबाट लागू हुने गरी हटाएको थियो ।

वीर अस्पतालमा कार्यरत करारका कर्मचारी हटाएर मन्त्री बस्नेतले आफ्ना मानिस भर्ना गर्न खोजेको मन्त्रालयका उच्च अधिकारीहरु बताउँछन् । उनले नियुक्तिका लागि न्याम्सका पदाधिकारीलाई दबाब पनि दिएको स्रोतको भनाइ छ ।

‘अहिले मन्त्री आफैं जान्ने सुन्ने गरी हप्की–दप्की गर्दै आएका छन् । कसैको सल्लाह सुझाव लिँदैनन्’, ती कर्मचारीले भने, ‘अहिले स्वीकृत दरबन्दीमा आफ्ना निकट मानिस घुसाउन अस्पताल निर्देशकदेखि उपकुलपतिलाई दबाब छ ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका