जोडिनुहोस
  • होमपेज
  • जाजरकोट र रुकुममा उद्धार जारी, जनप्रतिनिधि र सुरक्षाकर्मी परिचालित

जाजरकोट र रुकुममा उद्धार जारी, जनप्रतिनिधि र सुरक्षाकर्मी परिचालित

काठमाडौँ । जाजरकोटलाई केन्द्रविन्दु बनाएर गए राति गएको ६ दशमलव ४ रेक्टरको भूकम्पमा परी घाइते तथा वेपत्ता भएकाको उद्धार र खोजी तीव्र पारिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

सबै सुरक्षा निकायको समन्वयमा स्थानीय जनप्रतिनिधि र नागरिकको समेतको सहयोगमा उद्धार जारी रहेको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले बताए । उनका अनुसार अहिलेसम्म भूकम्पमा परेर एक सय २९ को मृत्यु भइसकेको छ भने एक सय ४० जना घाइते भएको विवरण प्राप्त भएको छ । अहिले प्रभावित क्षेत्रमा विभिन्न ठाउँबाट सुरक्षाकर्मी परिचालन भएको पनि उनले बताए ।

कडायतका अनुसार रुकुम पश्चिमबाट प्रहरी नायव उपरीक्षकको कमाण्डमा तीन सय २० जनाको प्रहरी टोली परिचालन गरिएको छ । जाजरकोटमा प्रहरी नायव उपरीक्षकको कमाण्डमा चार सय ५० जनाको सुरक्षा फौज परिचालन भएको छ ।

कर्णाली प्रदेश प्रहरी गण सुर्खेतबाट ३६ जना जाजरकोटका लागि र चौरजहारी बेसक्याम्पबाट १० जना रुकुम पश्चिमका लागि पठाइएको छ । यस्तै डिआइजिपी डा गोपेश ठाकुरको नेतृत्वमा ११ जनाको मेडिकल टोलीसमेत खटाइसकिएको प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।

यस्तै नेपाली सेनाका ११ जनाको उद्धार टोली हेलिकप्टरमार्फत पनि पुगिसकेको कडायतले बताउनुभयो । अहिले भूकम्प प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार कार्यलाई तीव्र बनाएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज विहान प्रभावित क्षेत्रमा उद्धार र मेडिकल टिमसहित पुगेका छन् । उनले त्यहाँ पुगेर उद्धार र राहतमा जुट्न आह्वानसमेत गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका