जोडिनुहोस
  • होमपेज
  • बालकुमारी सडकमा अवरोध भएको कुरा सुरक्षा निकायले जानकारी गराएन  मन्त्री ज्वाला

बालकुमारी सडकमा अवरोध भएको कुरा सुरक्षा निकायले जानकारी गराएन  मन्त्री ज्वाला

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बालकुमारी घटनाको सन्दर्भमा आफूले त्यो रुट प्रयोग गर्दा त्यहाँ भइरहेको अवरोधको सम्बन्धमा सुरक्षा निकायले कुनै जानकारी नदिएको दाबी गर्नुभएको छ । आज सोमवार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै मन्त्री ज्वालाले गएको शुक्रवार आफूले बालकुमारी क्षेत्रको रुट प्रयोग गर्दा सुरक्षा निकायले त्यो क्षेत्रमा भइरहेको अवरोधको सम्बन्धमा कुनै जानकारी नगराएको बताउनुभएको हो । गएको शुक्रवार रोजगार अनुमति प्रणाली ईपीएस आवेदन फारम भर्न नपाएको भन्दै बालकुमारी क्षेत्रमा युवाहरूले प्रदर्शन गरेका थिए । प्रदर्शनकारीले त्यही रुट हुँदै आएको मन्त्री ज्वालाको गाडीमा आगजनी गरेका थिए भने प्रहरीले बल प्रयोग गर्दा दुई जना युवाको ज्यान गएको थियो ।

यही विषयमा कुरा गर्दै मन्त्री ज्वालाले आफू पार्टी केन्द्रीय कमिटी बैठकका लागि तीन दिनदेखि बालकुमारी सडक भएर आउजाउ गरिरहेको र त्यो दिन पनि बैठकबाट निस्किएर मन्त्रालय जाने क्रममा त्यो घटना भएको बताउनुभयो । उहाँले आफ्नो सुरक्षा अधिकृतले केन्द्रमा आफूहरू बालकुमारीबाट मन्त्रालय निस्किएको जानकारी गराएको भए पनि प्रहरी केन्द्रबाट बाटोमा अवरोध भएको र त्यो बाटो प्रयोग नगर्ने सम्बन्धमा कुनै जानकारी नआएको उल्लेख गर्नुभयो । आफूहरूलाई बाटोमा अवरोध छ भन्ने कुरा जानकारी नै नभएका कारण त्यो रुट प्रयोग भएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘त्यस दिन पार्टीको केन्द्रीय कमिटी बैठक कान्तिपुर पार्टी प्यालेसमा चलिरहेको थियो । अन्तिम दिन बैठक भइरहेको थियो । त्यस बैठकमा म बिहानैदेखि सहभागी थिएँ । सिंहदरबारमा मन्त्रालयमा पनि एउटा बैठक थियो । पार्टीको बैठक शुरु भइसकेपछि केही समयका लागि मन्त्रालयको बैठकमा सहभागी भएर फेरि पार्टीको बैठकमा फर्किने उद्देश्यले म बाहिर निस्केँ । बाहिर निस्किनुभन्दा अगाडि बालकुमारी क्षेत्रमा के अवस्था छ रु त्यहाँ डिस्टर्ब छ कि छैन रु अथवा परिस्थिति के छ रु रुटको अवस्था के छ रु त्यो हामीलाई केही पनि थाहा भएन । हामी सामान्य अवस्थामा बाहिर निस्कियौँ । निस्किदाखेरी पनि सुरक्षा निकायबाट, सुरक्षाकर्मीबाट समेत यस विषयमा कुनै जानकारी भएन । हामी सामान्य रूपमा बाहिर निस्कियौँ ।

मन्त्री ज्वालाले घटनाप्रति दुःख पनि व्यक्त गर्नुभयो । उहाँले घटनामा आफूहरूको कुनै सम्बन्ध नभएको पनि उल्लेख गर्नुभयो । आफूहरू निर्दोष हुँदाहुँदै पनि आरोप लगाइएको भन्दै उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो । सुरक्षाकर्मीको कमजोरीलाई आफूहरूतिर थोपरेको उहाँको भनाइ थियो ।

हामी निस्किसकेपछि बीचमा अलिकति अगाडि बढिसकेपछि पारिपट्टी केही डिस्टर्ब हामीले महसुस गर्‍यौँ । अब के गर्ने भनेर त्यहाँ हाम्रो बीचमा छलफल भयो । अगाडि बढ्न पनि नसकिने, पछाडि फर्किन पनि नसकिने भएपछि मुख्य बाटोमा हामी प्रवेश गर्‍यौँ । मुख्य बाटोमा गइसकेपछि पनि केही व्यक्तिहरू आएर गाडी रोक्ने प्रयास भयो । त्यहाँ पीएसओले सम्झाउने प्रयास गरे । भीड बढ्दै जान थालेपछि म त्यहाँ रहँदा भीड झन् उत्तेजित होला भन्ने हिसाबले म त्यो गाडीबाट निस्केर फेरि बैठकस्थलमै फर्किएँ । त्यसपछिको अवस्था पनि मलाई जानकारी छैन । त्यहाँ आगलागी भएको कुरा । गोली चलेको कुरा । गोली चलेको कुरा गाडीमा आगो लाग्नुभन्दा पहिले हो कि पछि हो भन्ने कुरा पनि छानबिनबाट पनि थाहा होला । हाम्रो गाडी त्यहाँ पुगिसकेपछि पीएसओले बारम्बार यहाँ गाडी सडकमा छ, प्रदर्शनकारीहरूले घेरिरहेका छन्, छिटोभन्दा छिटो सुरक्षाकर्मी पठाउनुपर्‍यो भनेर कम्युनिकेशन गरिरहेका थिए । त्यति हुँदा पनि झन्डै २०र२२ मिनेटसम्म पनि त्यहाँ सुरक्षाकर्मी पुगेनन् । त्यसपछि प्रदर्शनकारीहरूले आगो लगाए भन्ने कुरा पछि मैले जानकारी पाएँ ।

‘यो घटनामा हामी कहीँ कतैबाट पनि जोडिदैनौँ । हाम्रो कुनै सम्बन्ध, साइनो पनि छैन । हाम्रो मन्त्रालयसँग जोडिएको विषय पनि होइन । अब भौतिक पूर्वाधार मन्त्री चढेको गाडी आएकै कारणले यो घटना घट्यो भन्ने कसैले परिभाषा गर्छ भने यो पूर्णरूपमा गलत कुरा हो । किनकि सडक खुला छ । सडकमा गाडी त चल्छन् । अरू गाडी पनि चलिरहेकै छन् । हाम्रो गाडी पनि चल्यो । त्यहाँ डिस्टर्ब छ भन्ने कुरा जानकारी भएको भए हामी जाँदैन थियौँ’, मन्त्री ज्वालाले भन्नुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका