जोडिनुहोस
  • होमपेज
  • डाक्टर गोविन्द केसीसहित नौ जना काठमाण्डौको माइतीघरबाट पक्राउ

डाक्टर गोविन्द केसीसहित नौ जना काठमाण्डौको माइतीघरबाट पक्राउ

डाक्टर गोविन्द केसीसहित नौ जना काठमाण्डौको माइतीघरबाट पक्राउ परेका छन् । निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै डाक्टर केसी, प्रेम चलाउने, पवन थापा, पुकार बमसहित नौ जना प्रदर्शनकारीलाई पक्राउ गरेर महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको प्रहरीले जनाएको छ । देशमा दण्डहीनता बढेको, द्वन्द्वकालका पीडितलाई झनै पीडित बनाउने तयारी भएको, विश्वविद्यालयहरुमा राजनीतिक भागभण्डा भइरहेको लगायतका घटनाको विरोधमा उनीहरु प्रदर्शनको लागि माइतीघरमा पुगेका थिए ।

आज बिहान मात्रै विज्ञप्ति निकालेर डाक्टर केसीले सत्ताले विरोधीको मुख थुन्नको लागि निषेधित क्षेत्र तोकेको भन्दै माइतीघरको निषेधित क्षेत्र तोड्न आग्रह गर्नुभएको थियो । केसीले चिकित्सा शिक्षा आयोगका निर्देशकहरुको नियुक्ति अदालतबाट रोकिएकोमा तत्काल अदालतले नै बाटो खोलेर नियुक्ति अघि बढाउन माग गर्नुभएको छ ।

यस्तै, उहाँले कैलालीको गेटामा तत्काल स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा ल्याउन र चिकित्सा शिक्षा ऐनमा उल्लेख भए अनुसार सबै प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज खोल्न पनि माग गर्नुभएको छ । सरकारले गएको मङ्सिर ५ गते माइतीघर–बानेश्वरलगायत काठमाण्डौका विभिन्न क्षेत्रमा सभा, जुलुस, प्रदर्शनलगायतका गतिविधि गर्न रोक लगाएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका