जोडिनुहोस
  • होमपेज
  • चार संसदीय समितिको बैठक बस्दै, के–के छन् कार्यसूची ?

चार संसदीय समितिको बैठक बस्दै, के–के छन् कार्यसूची ?

काठमाडौं । प्रतिनिधि सभाअन्तर्गत चार वटा संसदीय समितिको बैठक आज (बिहीबार) बस्दैछ । कानुन न्याय तथा मानव अधिकार समितिको बैठक अहिले बिहान ८ बजे सिंहदरबारमा बस्ने संसद् सचिवालयले जानकारी दिएको छ ।

समितिमा बेपत्ता पारिएका व्यक्तिको छनबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकमाथि उपसमितिको प्रतिवेदनसहित छलफल हुने समितिका सचिव अधिराज राईले जानकार दिएका छन् ।
यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक पनि बस्दैछ। बिहान साढे ११ बजे शिक्षा समितिको बैठकमा विद्यालय शिक्षासम्बन्धी विधेयकमाथि सरोकारवालासँग छलफल हुनेछ ।

आजको बैठकमा पाठ्यक्रम विकास केन्द्र र राष्ट्रिय परिक्षा बोर्डसँग छलफल हुने समितिले जानकारी दिएको छ । आजै उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको २२ औं बैठक बस्दैछ । सिंहदरबारमै दिउँसो १ बजे बस्ने बैठकमा रास्वपाका सांसद डोलप्रसाद अर्यालको श्रमिकको हितविपरीत हुनेगरी श्रम मन्त्रालयले गरेका निर्णयका सन्दर्भमा नीतिगत छलफल गराउने प्रस्तावमाथि छलफल हुनेछ ।

छलफलका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीलाई बोलाइएको समितिले बताएको छ । बिहीबार प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक पनि बस्दैछ । सिंहदरबारमा दिउँसो २ बजे बस्ने बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल हुने समितिले बताएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका