जोडिनुहोस
  • होमपेज
  • दलहरु विभिन्न अभियानमार्फत् गाउँठाउँ पुग्ने होडबाजीमा

दलहरु विभिन्न अभियानमार्फत् गाउँठाउँ पुग्ने होडबाजीमा

विभिन्न राजनीतिक दलहरु थरीथरीका अभियान लिएर नागरिकको माझमा पुग्ने होडबाजीमा लागेका छन् । संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले गएको १६ गतेदेखि ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गरेको छ । देशभरका वडा केन्द्रित यो अभियान आउँदो २६ गतेसम्म चल्ने कांग्रेसले जनाएको छ ।

पार्टीको कार्यक्रम शुरु हुुनु पहिले नै कांग्रेस महामन्त्री गगन थापाले तराईको हुलाकी राजमार्ग केन्द्रित अभियान थाल्नुभएको छ । गएको १३ गते झापाको छोटी भन्सारमा शुरु भएको उहाँको यात्रा बारा पुगेको छ । १३ दिने यात्राका क्रममा महामन्त्री थापाले हुलाकी राजमार्ग अन्तर्गतका २१ जिल्लाका पार्टी कार्यकर्ता र नागरिकका आवाज सुन्ने बताउनुुभएको छ ।

हिजो बाराको आदर्श कोतवाल गाउँपालिकामा भएको कार्यक्रममा उहाँले मधेशमा सिँचाइको उचित व्यवस्थापनका लागि आफूले पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले बाराको निजगढमा चाँडै अन्तर्राष्ट्रिय विमानस्थल बन्ने विश्वास पनि व्यक्त गर्नुभएको छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले पनि भोलिदेखि आयोजना केन्द्रित अभियान सञ्चालन गर्दैछ । आफूलाई नयाँ र अरु दलभन्दा फरक रुपमा दाबी गर्दै आएको रास्वपाले यसअघि मध्य पुसमा तीनदिने ‘नारायणगढ–बुटवल पदयात्रा’ गरेको थियो । भोलिदेखि अर्को अभियान मेलम्ची खानेपानी आयोजनाबाट शुरु हुने भएको छ । रास्वपाले भोलि माघ २१ गतेदेखि चैत २१ गतेसम्म २१ वटा आयोजनामा दबाबमूलक कार्यक्रम गर्ने निर्णय गरेको हो ।

यही प्रकृतिको कार्यक्रम अरु दलहरूले यसअघि नै गरिसकेका छन् । अघिल्लो वर्ष आमचुनावको तीन महिना नबित्दै ‘मिसन ग्रासरुट’ अभियान सञ्चालन गरेको एमालेले यसपालि मङ्सिर १४ गतेदेखि पुस १ गतेसम्म ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि सङ्कल्प यात्रा’ गरेको थियो । अहिले सरकारको नेतृत्वमा रहेको संसदको तेस्रो ठूलो दल माओवादी केन्द्रले पनि चार महिना लामो ‘रूपान्तरण अभियान’ चलाइसकेको छ । गएको वर्ष भएको आमचुनावमा राष्ट्रिय मान्यतासमेत नपाएको नेकपा एकीकृत समाजवादीले पनि चार महिनाअघि ‘समाजवाद जागरण यात्रा’ गर्‍यो ।

दलहरुले नागरिकको पीरमर्का बुुझ्न र विकास निर्माणको कामलाई समयमै गर्नको लागि दबाब दिन यस्ता अभियान सञ्चालन गरेको बताउँदै आएका छन् । राजनीतिक विश्लेषक एवम् त्रिभुवन विश्वविद्यालयको राजनीतिशास्त्रका उपप्रध्यापक अर्जुनध्वज अर्याल भने यस्ता अभियान अर्को चुनावको लागि तयारी भएको बताउनुहुन्छ । तर दल र नेताहरु यसरी गाउँगाउँ पुग्नु सकारात्मक भएकाले नागरिकले स्फूर्त रुपमा आफ्ना समस्या र प्रश्न सुनाउनुपर्ने उहाँको सुुझाव छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका