जोडिनुहोस
  • होमपेज
  • ‘अर्थतन्त्रको विकासमा उद्योगी र व्यवसायीको योगदान महत्वपूर्ण’

‘अर्थतन्त्रको विकासमा उद्योगी र व्यवसायीको योगदान महत्वपूर्ण’

काठमाडौं । मुलुकको अर्थतन्त्रको विकासमा उद्योगी, व्यवसायीको योगदान महत्वपूर्ण रहेकोमा सरोकारवालाले जोड दिएका छन् । पोखरा औद्योगिक क्षेत्र उद्योग सङ्घको आज पोखरामा आयोजित २१औँ वार्षिक साधारणसभामा सहभागी सरोकारवालाले निजी क्षेत्र र सरकारको सहकार्यबाट मात्रै राष्ट्रको समृद्धि हासिल गर्न सकिने धारणा राखे ।

पोखरा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष बाबुराम पन्तले उद्योगी, व्यवसायी बिना राज्यको अर्थतन्त्र बलियो हुन नसक्ने बताउँदै उद्योगी, व्यवसायी सबल र सक्षम हुनुपर्नेमा जोड दिए । उद्योगी, व्यवसायी पूजनीय व्यक्ति भएको उल्लेख गर्दै उनले विविध घटनाक्रमले उनीहरुलाई असर गरिरहेको पनि समस्याका बीच पनि व्यवसायलाई थेगिरहेको बताए ।

सम्पत्ति करको विषयलाई लिएर व्यवसायी मर्कामा परेको विषयमा आफू ज्ञात रहेको र यसका सम्बन्धमा पोखरा महानगरपालिका प्रमुखसँग छलफल गरिने बताए ।

गण्डकी प्रदेशका उद्योग सचिव कुमानसिंह गुरुङले उद्योगीका समस्याबारे आफूहरु जानकार रहेको बताउँदै मन्त्रालयबाट ‘रेफ्री’को काम हुनेमा ढुक्क हुन आग्रह गरे । मन्त्रालयले सहजीकरण गर्ने बताउँदै उनले प्राप्त सुझावलाई कार्यान्वयनको चरणमा लैजान तत्पर रहेको बताए ।

पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष पवन प्रजापतिले अहिलेको समयमा उद्योग सञ्चालन गर्न सजिलो नभएको बताए । नेपाल औद्योगिक क्षेत्र उद्योग महासङ्घका अध्यक्ष रामहीरा पाठकले राज्यका निकायको व्यवहार उद्योगी तथा व्यवसायी अनुकुल नभएको प्रतिक्रिया दिए ।

सङ्घका अध्यक्ष रुद्रलाल श्रेष्ठको पहलमा २०३१ सालमा स्थापना भएको पोखरा औद्योगिक क्षेत्रमा हाल विभिन्न सङ्घ, संस्था गरेर ८२ वटा छन् । जसमा ७६ वटा उद्योगमध्ये ७४ वटा सञ्चालनमा रहेका र दुई बन्द भएको उनले बताए । उनले औद्योगिक क्षेत्रमा तीन हजार जनाले रोजगारी पाएको समेत उल्लेख गरे ।

सङ्घले क्षेत्रभित्र फोहर व्यवस्थापन, पक्की बाटो निर्माण, क्लिनिक तथा दिवा शिशु स्याहार केन्द्र सञ्चालन गरिएको जनाएको छ । कार्यक्रममा उद्योग परिसङ्घ गण्डकीका अध्यक्ष विनोद शर्मा न्यौपाने, सङ्घका महासचिव फणीन्द्र शर्मालगायतले सरकारको उद्योगमैत्री नीति आवश्यक भएको बताए ।

सचिवालय भवनको शिलान्यास
साधारणसभा पूर्वसङ्घको सचिवालय भवनको शिलान्यास गरिएको थियो । शिलान्यास औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष बाबुराम पन्तले गरे । सो भवन रु एक करोड ५० लाख लागतमा निर्माण हुने सो अवसरमा जानकारी गराइयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका