जोडिनुहोस
  • होमपेज
  • कन्स्ट्रक्सनको ट्रक स्थानीयको नियन्त्रणमा

कन्स्ट्रक्सनको ट्रक स्थानीयको नियन्त्रणमा

काठमाडौ । मोरङको पथरी शनिश्चरेमा स्थानीयले कान्छाराम कन्स्ट्रक्सनका कर्मचारी, क्रसरका सामानसहितको ट्रक र दुई वटा भ्यान नियन्त्रणमा लिएका थिए ।

मनमोहन गन्धी मार्गको काम ढिलासुस्ती भएको र काम नगरी सामान उठाएर जान लागेको भन्दै स्थानीयले नियन्त्रणमा लिई प्रशासनलाई जिम्मा लगाएका थिए । स्थानीयले क्रसरका सामानसहितको ट्रक, कर्मचारी र दुई वटा भ्यानलाई पथरी शनिश्चरे नगरपालिका वडा नं १० कार्यालय र सशस्त्र प्रहरीको कार्यालय अगाडि नियन्त्रणमा लिएका थिए । कान्छाराम कन्स्ट्रक्सनका प्रतिनिधि दीपक थिङ तामाङले भोलि बिहानदेखि काम सुरु गर्ने मौखिक सहमति गरेपछि कर्मचारी र दुईवटा भ्यान छोडिएको छ । ट्रक भने सशस्त्र प्रहरीको निगरानीमा रहेको छ ।

स्थानीयले बाटो चाँडो बन्नुपर्ने माग राख्दै बाटो नबनेसम्म सवारी साधन नछोड्न प्रशासनलाई दबाब दिएका छन् । यसअघि मङ्सिर १४ मा स्थानीयले पथरी शनिश्चरेको तीन स्थानमा ढाट लगाएर बन्द गरेका थिए । मनमोहन गन्धी मार्गको काम समयमै सम्पन्न नभएपछि स्थानीयले पटकपटक दबाब दिँदै आएका छन् ।

कान्छाराम कन्स्ट्रक्सनले यात्रा गर्न सहज रहेको कालोपत्र बाटो निर्माण गर्ने भन्दै भत्काएको थियो । हाल उक्त बाटो खाल्डाखुल्डीको समस्याले यात्रा गर्न कठिन रहेको छ । उता लामो समयदेखि स्थानीयले खाल्डाखुल्डीको समस्या मात्र हैन बर्खामा हिलो र गर्मीमा धुलोको समस्यासमेत भोग्नुपरेको छ ।

चार वर्ष बित्दासमेत बाटो नबनेपछि पथरी शनिश्चरे ४ का वडाध्यक्ष लोककिरण न्यौपाने, ८ का नवीन कार्की र ९ का वीरबहादुर राईले बाटो चाँडो नबने बाटो बन्द गर्ने ध्यानार्कषण पत्रसमेत सार्वजनिक गरेका थिए । मङ्सिर १४ मा पथरी शनिश्चरे वडा नं ४, ८ र ९ का वडाध्यक्ष, ठेकेदार कम्पनीका प्रतिनिधि तामाङ, इलाका प्रहरी कार्यालय पथरी र स्थानीयले तीन घण्टा लामो छलफलपछि बाटो निर्माण काम सुरु गर्ने लिखित सम्झौतापछि बाटो खोलिएको थियो ।

विसं २०८० कात्तिकमा म्याद थप गरे पनि काम सुरु नगरेपछि मङ्सिर १४ मा स्थानीयले बाटो अवरुद्घ गरेर सडक आन्दोलनमा उत्रिएका थिए । तीन वर्षमा काम सम्पन्न गर्ने गरी २०७६ कात्तिकमा कान्छाराम कन्स्ट्रक्सनले कामको जिम्मा लिएको थियो । रु एक अर्ब ५५ करोड ७३ लाखमा ठेक्का लिएको कान्छाराम कन्स्ट्रक्सन कम्पनीले सरकारले भुक्तानी नदिएका कारण निर्माण अघि बढ्न नसकेको बताउँदै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका