जोडिनुहोस
  • होमपेज
  • कञ्चनपुरमा चैते धानखेती घट्दै

कञ्चनपुरमा चैते धानखेती घट्दै

बेदकोट– कञ्चनपुरमा विगतको तुलनामा चैते धानखेती घट्दै गएको छ । विगतका वर्षको तुलनामा पछिल्लो केही वर्षयता चैते धानखेतीको क्षेत्र घट्दै गएको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ ।

कुनैबेला कञ्चनपुरमा तीन(चार सय हेक्टर क्षेत्रमा चैते धानखेती हुने गरेकामा अहिले उक्त क्षेत्रफल खुम्चिएर एक सय ५० हेक्टरमा पुगेको केन्द्रका सूचना अधिकारी हरिदत्त जोशीले जानकारी दिए । सिँचाइको सुविधा नहुँदा चैते धानखेती घट्दै गएको जोशीको भनाइ छ ।

कृषकले बेर्ना राख्नेदेखि रोपाइँ गर्नेलगायतमा समस्या झेल्न थालेपछि चैतमा धान रोप्न छाडिएको बताउँछन् । जिल्लाको भीमदत्त नगरपालिकाको दक्षिणी क्षेत्र, वेदकोट, कृष्णपुर, बेलडाँडी, बेलौरी र पुनर्वासलगायत क्षेत्रमा चैते धानखेती बढीमात्रामा गरिनेमा अहिले कृषकको सङ्ख्या पनि घट्दै गएको केन्द्रका सूचना अधिकारी जोशीले बताए। उनका अनुसार भीमदत्त, बेलडाँडी र बेलौरीको केही क्षेत्रमा अहिले पनि खेती भइरहेको छ ।

कञ्चनपुरमा चैते धानको उत्पादन भने राम्रो हुने गरेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी जोशीले बताए। निकै सम्भावना बोकेको यो खेतीबाट दोहोरो फाइदा लिन सकिने उनको भनाइ छ । चैते धानखेती विशेष गरेर चिउरा तथा भुजाका लागि उपयुक्त मानिन्छ । स्थानीयस्तरमा उत्पादित धानले सहजै बजार नपाउँदा बिक्रीवितरणमा समस्या हुने गरेको कृषकको भनाइ छ ।

किसानलाई चैते धानतर्फ आकर्षित गर्न चैते धान प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिएको छ । कार्यक्रमअन्तर्गत उक्त धान प्रदर्शनका साथै कृषकलाई बीउवितरण गरिँदै आइएको सूचना अधिकारी जोशीले जानकारी दिए। केन्द्र र प्रधानमन्त्री कृषि आयोजनाले संयुक्तरुपमा चैते धान प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरिरहेको छ । यसअन्तर्गत चैते–५ र हर्दिनाथ जातका धानको बीउ वितरण गरिएको उनको भनाइ छ ।

कञ्चनपुरको बेलौरी, पुनर्वास, भीमदत्त, बेदकोट, कृष्णपुर, शुक्लाफाँटा, बेलडाँडी, दोधाराचाँदनी, लालझाडीलगायत क्षेत्रमा गरेर ४८ हजार चार ९६ हेक्टर जमिनमा धान खेती गरिन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका