जोडिनुहोस
  • होमपेज
  • इजरायलमाथि इरानले आक्रमण थालेपछि ह्वाइट हाउसमा बाइडेनले थाले छलफल

इजरायलमाथि इरानले आक्रमण थालेपछि ह्वाइट हाउसमा बाइडेनले थाले छलफल

काठमाडौं । इरानले इजरायलमाथि आक्रमण थालेपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले ह्वाइट हाउसमा छलफल थालेका छन् । ह्वाइट हाउसले इरानले अबको केही घण्टामा इजरायलविरुद्ध थप हवाई हमला गर्न सक्ने जनाएको छ ।

अमेरिकी राष्ट्रपतिले बाइडेनले भने, ‘हामी इरानको धम्कीविरुद्ध इजरायलको सुरक्षाप्रति प्रतिबद्ध छौँ र हामी यसका लागि दृढताका साथ उभिन्छौं ।’ राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता एड्रियन वाट्सनले भने, ‘राष्ट्रपति जो बाइडेनलाई राष्ट्रिय सुरक्षा टोलीले सम्पूर्ण स्थितिमा निरन्तर अपडेट गरिरहन्छ ।’

एड्रियनले अगाडि भने, ‘हाम्रो टोली इजरायली अधिकारीहरूसँग निरन्तर सम्पर्कमा छ । अन्य सहकर्मीहरूसँग पनि सम्पर्क राखिएको छ ।’ इरानले इजरायलमाथि ड्रोन आक्रमण थालेको छ । १ अप्रिलमा सिरियामा आफ्नो दूतावासमाथि भएको आक्रमणको जवाफमा इजरायलमाथि आक्रमण गरिएको इरानले जनाएको छ ।

बीबीसीका अनुसार इरानले इजरायलमाथि कम्तिमा २०० ड्रोन आक्रमण गरेको छ । त्यसमध्ये केही ड्रोन अमेरिकाले ध्वस्त पारिदिएको बताइएको छ । इरानको इस्लामिकल रिभोलुसन गार्ड कर्प्स (आईआरजीसी) ले निश्चित लक्ष्यलाई निशाना साँधेर आक्रमण गरिएको जनाएको छ ।

इरानी सेनाले भने इजरायलले गरेको ‘लगातारको अपराध’ को जवाफमा आक्रमण गरिएको जनाएको छ । इरानले यो आक्रमणलाई ‘अप्रेसन ट्रु प्रमिस’ नाम दिएको छ । आक्रमणका क्रममा इरानले दर्जनौँ मिसाइल पनि प्रहार गरेको छ । इसराइलमाथि आक्रमण भएपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले इसराइली प्रधानमन्त्री बेन्यामिन नेतेन्याहुसँग टेलिफोन वार्ता गरेका छन् ।

बेलायतले पनि आक्रमणको निन्दा गरेको छ । बेलायतका रक्षामन्त्री ग्रान्ट शाप्सले मध्यपूर्वमा रहेको आफ्नो सम्पत्तिको रक्षा गर्न आवश्यक कदम चालिने बताएका छन् । ‘इरानले इसराइलमा गरेको हवाई आक्रमणको कडा शब्दमा निन्दा गर्छु । यसले क्षेत्रीय सुरक्षा कमजोर बनाउनुसिवाय अरू कुनै फाइदा हुँदैन,’उनले भनेका छन् । क्यानडाले पनि इसराइलमाथि इरानले गरेको आक्रमणको निन्दा गरेको छ ।

साउदी अरबले भने दुवै देशलाई संयम रहन भनेको छ । इसराइलले अहिलेसम्म कुनैपनि जवाफ दिएको छैन । इरानले दुई देशबीचको लडाईंमा अमेरिकाले हस्तक्षेप गरे अमेरिकालाई पनि जवाफ दिने चेतावनी दिएको छ । एफबिआईले अहिलेसम्म अमेरिकामाथि आक्रमणको खतरा नरहेको जनाएको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पनि आक्रमणको निन्दा गर्दै दुवै पक्षलाई संयम रहन आग्रह गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका