जोडिनुहोस

समाचार

घर खरानी भएपछि बिचल्ली

  • Sagarmatha TV
  • सोमवार, बैशाख १०, २०८१
घर खरानी भएपछि बिचल्ली

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–३, रातामाटाकी वसन्ता मल्ल आइतबार घरको खरानी सोहोर्दै थिइन् । शनिबार लागेको आगोेले उनको घरसहित अन्नपात र लत्ताकपडा खरानी बनाएको थियो । आगलागीबाट त्यस टोलका १६ परिवारको बिचल्ली भएको छ ।

“घर एकैछिनमा खरानी भयो । गाँसबासको टुंगो छैन । कहाँ बस्ने, कहाँ खाने,” आँसु झार्दै मल्लले भनिन् । स्थानीय गंगाबहादुर विकको पनि मल्लको जस्तै पीडा छ । “घरमा रहेको गरगहना, अन्न, कपडा, लालपुर्जा, नागरिकता सबै जलेर नष्ट भयो,” उनले भने, “घरमा रहेका कुनै पनि वस्तु बचाउन सकिएन ।”

वसन्ता र गंगाबहादुर मात्र हैन, धारापानीमा शनिबार आगलागीमा परेर घर जलेका १३ परिवार अहिले खुला आकाशमुनि बस्न बाध्य छन् । भूमिकास्थान नगरपालिका धारापानीका रातामाटा, जाबुनडाँडा, बाजाखर्क, फलामखिल्जीलगायत गाउँमा आगोले १६ घर र १० गोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दीपेन्द्र रावलले जानकारी दिए । बस्तीमा पसेको आगो निभाइए पनि वनमा डढेलो अझै पूर्ण रूपमा निभाउन सकिएको छैन ।

प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले आगोले घर गुमाएका परिवारलाई गाउँमै गएर खाद्यान्न सामग्री वितरण गरेका छन् । आगलागीबाट घर नष्ट भएका रातामाटा क्षेत्रका १६ परिवारलाई जिल्ला प्रशासन कार्यालयको पहलमा उद्योग वाणिज्य संघले खाद्यान्न सामग्री उपलब्ध गराएको हो । उद्योग वाणिज्य संघका जिल्ला अध्यक्ष प्रदीप मिश्रले चामल, दाल, तेल, नुनलगायत खाद्यसामग्री वितरण गरिएको बताए ।

आगोले गाउँ नै सखाप भएको छ । जिल्लाका विभिन्न स्थानमा शनिबार लागेको आगलागीबाट ४३ घरगोठ जलेर नष्ट भएको छ । शनिबार भूमिकास्थान नगरपालिका, शीतगंगा नगरपालिका र पाणिनी गाउँपालिकामा आगोले २० घर र २३ गोठ जलेर नष्ट भएको छ भने ११ बाख्रा र ६ भैँसी मरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका