जोडिनुहोस
  • होमपेज
  • ताप्लेजुङमा काबेली नदीको बाढीले मोटरेबल पुल र घर बगायो

ताप्लेजुङमा काबेली नदीको बाढीले मोटरेबल पुल र घर बगायो

ताप्लेजुङ । ताप्लेजुङमा बुधबार बेलुकादेखिको वर्षासँग काबेली नदीमा आएको बाढीले सिदिङ्वा र सिरिजंघा गाउँपालिकामा क्षति पुर्‍याएको छ । बाढीले मोटरेबल पुल, झोलुङ्गे पुल भत्काएको छ भने एउटा घरसहित केही पशुचौपाया समेत बगाएको स्थानीयले जानकारी दिएका छन् ।

बाढीले सुरुमखिम–खेवाङ–याम्फुदिन जोड्ने मोटरेबल पुल भत्काएको सिदिङ्वा गाउँपालिका–१ सुरुमखिमका वडासदस्य राजकुमार इम्वुङले जानकारी दिएका छन् । गत जेठ महिनामा उद्घाटन गरिएको पुलको एकापट्टिको पिलरसहितको भाग भत्काएको हो । बाढीले सिरिजंघा गाउँपालिका–८ याम्फुदिनको जनजीवन पनि प्रभावित भएको छ ।

काबेली नदीमा आएको बाढीले स्थानीय जगतबहादुर राईको घर पुरेको छ भने कञ्चनजंघा माध्यमिक विद्यालय, याम्फुदिन प्रहरी चौकी कञ्चनजंघा संरक्षण क्षेत्र, स्वास्थ्य चौकीको भवन जोखिममा रहेको कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का सदस्य सचिव मनकुमार राईले जानकारी दिए । विद्यालय र प्रहरी चौकीको नजिकै खोलाले कटान गरिरहेकाले बिहान स्थानीयले विद्यालयको सामान सुरक्षित ठाउँमा सारेका छन् । बाढीले दिलबहादुर मगरको एउटा गाई, एउटा भैंसी र सुँगुर समेत बगाएको छ ।

तारामान गुरुङ, अशोक गुरुङ, मणिकुमार राई, तार्सदिप गुरुङ, रामकुमार राई, सोमबहादुर राईका घर जोखिममा रहेको स्थानीयले जानकारी दिएका छन् । काबेली हाइड्रो पावरको गोदाम बगाउँदा करोडौं रुपैयाँ बराबरको क्षति भएको छ । मेसिन, गोदाम र क्रसर समेत बगाएको छ । खेवाङतर्फ आउने झोलुङ्गे पुल पनि आधा ढलेकाले मानिसको आवतजावतमा समेत समस्या हुन थालेको छ । यो पुल पनि बगे याम्फुदिनका मानिस बस्ती बाहिरका अन्य क्षेत्रमा जानबाट बञ्चित हुने छन् ।

सिदिङ्वा–१ सुरुमखिमका विद्यालय आइतबारसम्मका लागि बन्द गरिएको बालकल्याण माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष विदुर गुरुङले जानकारी दिए । उनका अनुसार आज ९शुक्रबार० बिहान पनि वर्षा भइरहेको छ र बालबालिका विद्यालय जान सक्ने अवस्था छैन । सदरमुकाम फुङलिङबाट यात्रु लिन गएका दर्जनौं सवारी साधन गाउँमै रोकिएका छन् । वर्षा रोकिएर सडक नबनाएसम्म फर्काउने उपाय नभएको उनले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका