जोडिनुहोस
  • होमपेज
  • ७ महिनामा झण्डै ५ लाख युवा विदेशिए

७ महिनामा झण्डै ५ लाख युवा विदेशिए

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो ७ महिनामा झण्डै ५ लाख युवा वैदेशिक रोजगारीका लागि विदेश पुगेका छन् । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार साउनदेखि माघसम्म वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने र श्रम स्वीकृति नवीकरण गर्नेको संख्या ४ लाख ८२ हजार ४७५ पुगेको छ ।

यो वर्ष ७ महिनामै नयाँ अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत) लिने नेपालीको संख्या मात्रै ३ लाख १४ हजार ७६७ जना पुगेको छ । माघ महिना मात्रै ३९ हजार १२४ जना युवा वैदेशिक रोजगारीमा नयाँ श्रम स्वीकृति लिएर गाएका छन् ।

यो अवधिमा १ लाख ६७ हजार ७०८ पुनः श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीका लागि विदेश उडेको वैदेशिक रोजगार विभागको तथ्यांकमा देखिन्छ ।

माघ महिनामा २५ हजारभन्दा धेरै युवाले श्रम स्वीकृति नवीकरण गरेका छन् । यसमा भिजिट भिसामार्फत अवैध रुपमा विदेश जाने र भारतीय बाटो भएर वैदेशिक रोजगारीमा जानेको संख्या सामेल छैन । यो अवधिमा मलेसियमा सबैभन्दा धेरै १ लाख ८२ हजार युवा कामका लागि पुगेको देखिन्छ ।

यो वर्ष वैदेशिक रोजगारीमा जानेको संख्या गत वर्षको तुलनामा १ लाख ३० हजारले बढेको छ । गत वर्ष यसतै अवधिमा ३ लाख ५२ हजार ४२३ युवा विदेशिएका थिए । नयाँ श्रम स्वीकृति लिएर विदेशिनेको संख्या २ लाख १०२ मात्रै थियो भने पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या १ लाख ५२ हजार ३२५ थियो ।

वैदेशिक रोजगारीमा जानेको संख्यासँगै यो वर्ष रेमिट्यान्स आम्दानी पनि बढेको छ । यो वर्ष पुससम्म मात्रै रेमिट्यान्स आप्रवाह २४.३ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकको तथ्यांकमा देखिन्छ ।

६ महिनामा ५ खर्ब ८५ अर्ब ८ करोड रुपैयाँबराबरको रेमिट्यान्स भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ५ प्रतिशतले घटेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका