जोडिनुहोस
  • होमपेज
  • किसानलाई कफीका बिरुवा वितरण

किसानलाई कफीका बिरुवा वितरण

काठमाडौं । काभ्रेपलाञ्चोक जिल्लाको विकट डाँडापारिस्थित महाभारत गाउँपालिकाका किसानको आम्दानी वृद्धि गराउन निःशुल्करुपमा कफीको बिरुवा विरतण गरिएको छ । गाउँपालिकाले आर्थिक उपार्जनका लागि कफी वैकल्पिक व्यवसाय हुुनसक्ने भन्दै आम्दानीको स्रोत बढाउन उक्त बिरुवा वितरण गरेको हो ।

वडा नं १ का अध्यक्ष कान्छामान जिम्बाले भौतिक विकाससँगै आर्थिक विकासका रुपमा कफीलाई अगाडि बढाउने अभियान थालिएको बताए । मकै र कोदो खेती गरेको ठाउँमा कफी खेतीको उत्पादनले झन्डै दोब्बर आम्दानी लिन सकिने भएकाले पनि परम्परागत खेतीबाट फरक तरिकाले कफीका साथै फलफूल खेतीतर्फ किसानलाई डोर्‍याउन वडाले काम गरिरहेको उनले जानकारी दिए । किसानले पनि आम्दानीका लागि खेतीमा विकल्प सोचिरहेका बेला कफी उत्पादन प्रमुख हुने देखिएको वडाध्यक्ष जिम्बाको भनाइ थियो ।

महाभारत क्षेत्रमा कफीको राम्रो उत्पादन हुने भएको र अहिलेसम्म परम्परागत रुपमा मकै, कोदोलगायत खेती गर्दै आएका यहाँका किसानको मुख्य आम्दानीको स्रोत कफी नै देखिएकाले बिरुवा वितरणलाई अभियानकै रुपमा अगाडि बढाइएको गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले बताए। उक्त पालिकाका सबै वडामा सहकारी संस्थामार्फत आर्थिक वर्ष ०७९र८० मा मात्रै एक लाख वटा कफीको बिरुवा वितरण गरिएको उनको भनाइ थियो । “महाभारतको आर्थिक समृद्धिको आधार कफीबाट हुने सम्भावना देखिएकाले उत्पादनमा किसानलाई जोड्न यो वर्ष बिरुवा वितरणमा जोड दिएका छौँ”, अध्यक्ष जिम्बाले भने, “यसअघि पालिकाले कफी उत्पादनका विषयमा जानकारी, त्यसको बजारीकरण र गुणस्तरीय उत्पादनका लागि आवश्यक उपकरण वितरणलगायत काम गरिसकेको छ ।”

यहाँका केही किसानले आफ्नै लगानीमा सामान्य किसिमले कफी खेती गर्दै आएका र आम्दानी पनि राम्रो भएको पाइएपछि किसानहरु पनि त्यसतर्फ आकर्षित भएका छन् । आम्दानी पनि राम्रो हुने, पालिकाले पनि निःशुल्क रुपमा बिरुवा वितरण गरेपछि अन्य किसान पनि खुसी भएका छन् । कफी उत्पादनलाई प्रोत्सान दिन यस वर्षदेखि वडा नं। ३, ५ र ८ वडामा नर्सरीसमेत स्थापना गरिएको पालिकाले जनाएको छ । त्यस्तै पालिकाले कृषि क्षेत्रमा किसानलाई अग्रसर गराउन ट्र्याक्टर, स्प्रे पम्प, प्लास्टिक टनेल र तालिमसमेत दिँदै आएको छ ।

इलाममा चिया हेर्न नेपालीसँगै विदेशी पर्यटक गए जसरी महाभारतमा कफी हेर्ने पर्यटक भित्र्याउने लक्ष्यका साथ काम गरिरहेको गाउँपालिकाले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका