जोडिनुहोस
  • होमपेज
  • पूर्वाधार र प्रचार–प्रसार नहुँदा कञ्चनपुरको पर्यटकीय क्षेत्र ओझेलमा

पूर्वाधार र प्रचार–प्रसार नहुँदा कञ्चनपुरको पर्यटकीय क्षेत्र ओझेलमा

कञ्चनपुर । पूर्वाधार विकास र प्रचार–प्रसार नहुँदा कञ्चनपुरका थुप्रै पर्यटकीय क्षेत्र ओझेलमा परेका छन् । ती पर्यटकीयस्थलको प्रचार–प्रसार र पूर्वाधार अभावले ओझेलमा परेका हुन् । यहाँको गड्डाचौकी नाका भएर भारतीय तथा तेस्रो मुलुकका पयर्टक आउँछन् । तर गड्डाचौकी नाका भएर आएका पर्यटक यहाँका पर्यटकीयस्थल छाडेर काठमाडौँ पोखरा जाने गरेको अध्यागमन कार्यालय गड्डाचौकीले जनाएको छ ।

अध्यागमन कार्यालय कञ्चनपुरका सूचना अधिकारी पदमराज भट्टले गड्डाचौकी नाकाबाट तेस्रो मुलुकका पर्यटक आए पनि सिधैँ काठमाडौँ– पोखरालगायतका सहर घुम्न जाने गरेको बताए । ‘अहिले विदेशी पर्यटक आउने संख्या बढेको छ’, उनले भने, ‘गत वर्षको भन्दा अहिले विदेशी पर्यटक आउनेक्रम बढेको छ ।’ अध्यागमन कार्यालयको तथ्याङ्कानुसार २०२२ मा पाँच सय ४२ विदेशी पर्यटक गड्डाचौकी नाकाबाट नेपाल भित्रिएका थिए । यो वर्षको हालसम्म छ सय ८५ जना विदेशी पर्यटक भित्रिएका छन । सप्टेम्बरमा मात्रै एक सय ५४ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।

कञ्चनपुरमा रहेको शुक्लाफाँटा राष्ट्रिय निुकञ्ज पर्यटकको सम्भावना बोकेको क्षेत्र हो । शुक्लाफाँटामा सयौँको संख्यामा देखिने बाहसिङ्गाको झुण्ड र घाँसे मैदान यहाँ आउने पर्यटकको मुख्य आकर्षणका रूपमा छ । यहाँ शुक्लाफाँटा मात्र नभई महाकालीपारिका गाउँ दोधारा र चाँदनीलाई जोड्ने एसियाकै सबैभन्दा लामो झोलुङ्गे पुल पनि छ । यस पुलको लम्बाइ एक हजार चार सय ९५ मिटर छ ।

दोधरा चाँदनीसम्म पुग्ने अव्यवस्थित सडक, बाहिरबाट आउने पर्यटकका लागि बसोबासका लागि उचित होटल नभएको कारणले पर्यटक त्यहाँसम्म पुग्न सकिरहेका छैनन् । त्यसैगरी धार्मिक र पुरातात्विक महत्वका हिसाबले यहाँका धार्मिक पर्यटकीयस्थल महत्वपूर्ण छन् । बेदकोट ताल र झिलीमिली ताल पनि महत्त्वपूर्ण पर्यटकीयस्थल छन् । तर यहाँसम्म पुग्ने सहज पहुँच नहुँदा यी क्षेत्र ओझेलमा परेका छन् ।

उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य जङ्गबहादुर मल्लले यहाँको पर्यटनको विकासका लागि राज्यस्तरबाट लगानी हुन नसकेको बताए । ‘हाम्रो यहाँ पर्यटनका थुप्र्रै सम्भावना छन्, तर पूर्वाधार र प्रचार–प्रसार अभावले गर्दा ओझेलमा छन्’, मल्लले भने, ‘सहज महँगो यातायात र पर्यटकीय क्षेत्रमा सुविधसम्पन्न होटललगायतको सुविधा छैन ।’ उनले यहाँको पर्यटन विकासका लागि राज्यस्तरबाट पर्याप्त लगानी हुन नसकेको बताए । कञ्चनपुरबाट भारतको राजधानीसहितका ठूला–ठूला सहर नजिक छन । ‘यहाँका पर्यटकीय क्षेत्रको प्रचार–प्रसार र पूर्वाधार विकासमा सरकारले जोड दिनुपर्ने यहाँका व्यवसायी बताउँछन् ।

होटल व्यवसायी सङ्घ कञ्चनपुरका अध्यक्ष जगदीशचन्द्र भट्टले पूर्वाधार र सुविधा नहुँदा यहाँ पुगेका पर्यटक पनि यहाँ नबस्ने गरेको बताए । ‘प्रचार–प्रसार र पूर्वाधार अभाव नै यहाँ पर्यटक नबस्ने प्रमुख कारण हुन्’, उनले भने, ‘नाकामा पर्यटक सूचना केन्द्रसमेत सञ्चालनमा आउन सकेको छैन ।’ योसँगै हवाई यातायात पनि सञ्चालनमा आउन जरुरी रहेको उनले बताए ।
त्यसैगरी यहाँ पर्यटकीय गन्तव्यको रूपमा महाकाली नदी किनार विकसित हुन थालेको छ ।

महाकाली पुल योजना कार्यालयले महाकाली नदीमा चार लेनको पक्की पुलसँगै पर्यटकका लागि मानवनिर्मित ताल निर्माण गर्न लागेको छ । महाकाली पुल आयोजना कार्यालयका अनुसार पुलसँगै चारवटा पोखरी निर्माण हुनेछन् । त्यसकै छेउछाउमा पाँच हजार बिरुवा रोप्ने योजना गरेको छ । पुल निर्माणसँगै महाकाली नदी किनारमा पर्यटकलाई आकर्षित गर्नका लागि आइसलेन्डसहितका चारवटा पोखरी निर्माण हुन लागेका छन् । यसले पनि यहाँको पर्यटनमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका