जोडिनुहोस
  • होमपेज
  • बझाङ भूकम्प अपडेट? घाइते हुनेको संख्या १७ पुग्यो, एक जना बेपत्ता

बझाङ भूकम्प अपडेट? घाइते हुनेको संख्या १७ पुग्यो, एक जना बेपत्ता

काठमाडौं।बझाङ केन्द्रबिन्दु बनाएर मंगलबार दिउँसो गएको भूकम्पमा घाइते हुनेको संख्या १७ पुगेको छ । एकजना बेपत्ता रहेको बझाङकी सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले जानकारी दिइन् ।

उनका अनुसार दुई महिलाको हातखुट्टा भाँचिएको छ । ‘केही व्यक्तिलाई अन्यत्र रिफर गरिएको छ । केहीलाई सामान्य उपचारपछि घर फर्काइएको छ । घरहरू चर्किएमा छन्, कति घर ध्वस्त भएका छन्,’ उनले भनिन् । उनका अनुसार क्षतिको विवरण संकलन भइरहेको छ ।

भूकम्पका कारण पहिरो जाँदा जयपृथ्वी नगरपालिका–११ ओखलीकी ४० वर्षीया गुनमति धामी बेपत्ता भएकी छन् ।

उनी मंगलबार दिउँसो टिमुर टिप्न जङ्गल गएकी थिइन् । घर नफर्किएपछि उनको खोजी भइरहेको छ । उनी टिमुर टिप्न गएको ठाउँमा पहिरो गएको छ। उनी पहिरोमा परेर बेपत्ता भएको हुनसक्ने अनुमान भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख भरत शाहले बताए ।

उनको खोजीका लागि प्रहरी परिचालन गरिएको छ । मंगलबार दिउँसो २ बजेर ४० मिनेट जाँदा बझाङको तलकोट केन्द्रबिन्दु भएर ५।३ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यस्तै दिउँसो ३ बजेर ६ मिनेटमा बझाङकै चैनपुर केन्द्रबिन्दु आसपास बनाएर ६।३ म्याग्निच्युडको भूकम्प गएको थियो ।

यस्तै सदरमुकाम र विभिन्न स्थानीय तहका दर्जनौं घरहरूमा क्षति भएको छ । सदरमुकामका पक्की घरहरू चर्किएका छन् । गाउँका कच्ची घर तथा विद्यालयहरू भत्किएका छन् ।

भूकम्पले घर क्षति गरेपछि स्थानीयहरूको खुला आकासमुनि बास भएको छ। घरमा क्षति नभएकाहरू पनि भूकम्पको त्रासले बाहिरै बसेका छन् ।

जिल्लामा भूकम्पका कारण जनजीवन प्रभावित बनेको छ। सुरक्षित ठाउँमा रहन जिल्ला प्रशासन बझाङले अनुरोध गरेको छ। कुन ठाउँमा कति क्षति भयो भन्नेबारे प्रहरीले तथ्यांक संकलन गरिरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका