जोडिनुहोस
  • होमपेज
  • पर्यटकीय क्षेत्रमा फस्टाउँदै किवी खेती

पर्यटकीय क्षेत्रमा फस्टाउँदै किवी खेती

ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–११ लालीखर्क क्षेत्र एक पर्यटकीय क्षेत्र हो । विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल जाने पर्यटकले फुङ्लिङदेखि पहिलो क्यापहो लालीखर्क । विगतका वर्षहरुमा लालीखर्क क्षेत्र पर्यटकको भरिभराउ हुन्थो । तर अहिले किवीको बोट झाङ्किएर लालीखर्क भरिभराउ भएको छ ।

सरमुकाम फुङ्लिङ बजारदेखि सुकेटार विमानस्थल हुँदै लालीखर्क भएर सडक विस्तार भएसँगै लालीखर्क ओझेलमा पर्दै गयो । असोज, कात्तिक र मंसिरमा पर्यटकले खचाखच हुने लालीखर्क विस्तारै सुनसान बन्दै गयो । पर्यटकको राम्रो चहलपहल भएको समयमा यस क्षेत्रमा घर घडेरी समेत किनबेच भएको थियो । धेरैले लालीखर्कमा घडेरी किनेर होटल सञ्चालन गरेका थिए ।

लालीखर्कको बिच भाग भएर अहिले सडक सिरिजङ्गा गाउँपालिकाको मांमाखे पुगेको छ । यस पदमार्ग हुँदै जाने पर्यटक गाडीमा हुत्तिएर मामांखे पुग्न थालेका छन् । लालीखर्कका होटल व्यवसायी भने धुलो खाँदै बस्नुपर्ने समय आएपछि बसाई सराई गर्न थालेका छन् । लालीखर्क क्षेत्रमा बसाइँसराइले घर खाली भएका छन् । विगतमा यहाँ १३ होटल सञ्चालनमा थिए । अहिले तीन परिवार मात्र बसोबास गर्दै आएका स्थानीय धनबहादुर विष्टले बताए ।

उनले भने, ‘लालीखर्क पहिला जस्तो छैन । सुनसान छ । मेरो परिवारका पनि सबैले घर छोडेर गइसकेका छन् । गाईबस्तुका कारण म यतै छु । किन्ने कोही आए बिक्री गरेर जाने सोच छ ।’ लालीखर्कमा पर्यटक आउजाउ शून्य भयो । होटल बन्द भए । छरछिमेक घर छोडेर बसाई सरेर गए । पर्यकको खचाखच हुने लालीखर्कका फाँटमा उराठ लाग्नथाल्यो । पर्यटकको क्याम्प क्षेत्र सुनसान भएसँगै केही होटल सञ्चालकले आफ्नो घर त्यतिकै छोडेर बसाई सरेर गएका छन् । घर भने त्यतिकै छ । घरमा होटलको साइनबोर्डसमेत देखन सकिन्छ । तर अहिले कहीँकतै एउटा गिलास चियार पनि पाइँदैन ।

स्थानीय युवा शुक्रराज लिम्बूले भने सुनसान भएको लालीखर्कका फाँटमा सम्भावनाको खाजी गर्न थाले । रित्तिएको बस्तीमा उजाड बनाउने सपनाका साथ वैकल्पिक सम्भावनाको खोजी गर्ने क्रममा किवी खेतीले लिम्बूको मन तान्यो । लिम्बूले किवी खेती विस्तार गर्न थाले । लालीखर्कका फाँटमा किवीको बोट झाकिन थाल्यो । सात रोपनी क्षेत्रफल जमिनमा किवी खेती विस्तार गरेको लिम्बूले बताए ।

उनले भने, ‘यो साल पनि राम्रै फलेको छ ।’ लिम्बूले लगाएको किवी बगानबाट पहिलो पटक फल्न थालेको हो । अहिले प्रत्येक बोटमा दुईदेखि चार किलोसम्मको फल रहेको लिम्बूले बताए । अर्को वर्ष भने राम्रो उत्पादन हुने सङ्केत देखिएको लिम्बूले बताए । किवी विस्तार गरेसँगै लिम्बू आफ्नो नाममा लालीखर्क कृषि फार्म दर्ता गरेका छन् । फार्मको उद्देश्य राम्रो भएकाले कृषि ज्ञान केन्द्र ताप्लेजुङले रु पाँच लाख अनुदान दिएको कृषि ज्ञान केन्द्र ताप्लेजुङले जनाएको छ । अनुदानबाट किवीको फलामे थाङ्क्राको व्यवस्थापन गरेको लिम्बूले बताए ।

ताप्लेजुङसहित पूर्वका अधिकांश पहाडी तथा हिमाली जिल्लाका किसान किवीको राम्रो बजार देखेपछि यसप्रति आकर्षित भएका छन् । ताप्लेजुङमा अहिले धेरै किसानले व्यावसायिकरूपमा किवीखेती गर्न थालेका छन् । किसानले लगाएको खेतीबाट किवी उत्पादन हुन थालेसँगै बजारमा माग निरन्तर बढ्दै गएको छ ।

गत वर्ष ताप्लेजुङमा किवी सुरुमा प्रतिकिलो रु छ सयसम्म खरिद(बिक्री भएको किसानको भनाइ छ । फक्ताङलुङ गाउँपालिका–४ इखाबुका बुद्ध काम्बाङले किवीबाट राम्रो फाइदा लिन सकिने अवस्था रहेको बताए । शीतभण्डारको व्यवस्था भएमा किवीलाई लामो समयसम्म राखेर उपभोग गर्न सकिने उनको भनाइ छ । किवीलाई प्रशोधन गरेर जुस, वाइनलगायत रक्सीजन्य परिकार बनाएर उपभोग गर्न सकिने र यसबाट किसानले आम्दानी गर्नसक्ने अवस्था छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका