जोडिनुहोस
  • होमपेज
  • अर्थतन्त्रको सूचक राम्रो छः प्रधानमन्त्री प्रचण्ड

अर्थतन्त्रको सूचक राम्रो छः प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकको वर्तमान आर्थिक दृश्य सकारात्मक भए पनि त्यसको महसुस आम सर्वसाधारणले गर्न नसकेको बताएका छन् ।

बिहीबारदेखि काठमाडौँमा सुरु भएको रेस्पोन्सेवल बिजनेस समिट कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘तथ्याङ्क हेर्दा अर्थतन्त्रमा सुधारको अनुभूति हुँदै गएको देखिन्छ । तर, व्यवहारमा आम जनतामा आशाको रक्तसञ्चार सिर्जना गर्न अझै मेहनत गर्नुपर्ने परिस्थिति हाम्रा सामु छ। त्यसैले मैले अर्थतन्त्र सुधारमा केन्द्रित रहेर अझ बृहत् बैठक र केही नयाँ घोषणसमेत गर्ने तयारी गरिरहेको छु। यसमा समेत यहाँहरूको सक्रिय सहभागिता, महत्त्वपूर्ण सुझाव र कार्यान्वयनमा जिम्मेवारीवोध एवं तत्परता रहनेछ भन्ने मैले विश्वास लिएको छु ।’

मुलुकको प्रमुख साझेदार निजी क्षेत्र मात्र होइन, सरकार र राज्यका सबै निकाय उत्तिकै जिम्मेवार रूपमा प्रस्तुत हुन आवश्यक रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले सुशासन र भ्रष्टाचार नियन्त्रणमा सरकारले चालेको कदममा सबैको साथ र सहयोगको लागि आग्रह समेत गरे।

जिम्मेवार व्यावसायिक अभ्यासहरू नैतिक सामाजिक दृष्टिकोणबाट मात्र नभई व्यावसायिक रणनीतिका हिसाबले पनि फाइदाजनक छन्। जिम्मेवार अभ्यासहरुमार्फत् व्यवसायहरूले दिगो विकासमा योगदान दिन र समाजमा सकारात्मक प्रभाव सिर्जना गर्न सक्छन् अध्यक्ष प्रचण्डको भनाइ छ ।

‘यहाँहरू सबैलाई अवगत नै छ– अर्थतन्त्रको क्षेत्रमा विद्यमान दबाबलाई चिर्न र देशभित्र लगानीको वातावरणसहित आशाको रक्तसञ्चार गर्न मैले लगातार प्रयास गर्दै आएको छु। केही दिन पहिला मात्र मैले सरकार, निजी क्षेत्र र आर्थिक क्षेत्रका विज्ञहरू सम्मिलित बैठकको आयोजना गरेर अर्थतन्त्रमा सुधार ल्याउन बृहत् अन्तरक्रिया गरेको छु। अन्तरक्रियापछि केही महत्त्वपूर्ण घोषणाहरूसमेत गरिएको छ। मेरो विश्वास छ– उक्त अन्तरक्रिया र घोषणाले अर्थतन्त्रमा सुधार ल्याउन महत्त्वपूर्ण भूमिका खेल्नेछ ।

उद्यमी व्यवसायी समेत सम्मिलित हालै युएईमा आयोजित सम्मेलनमा मैले नेपाललाई लगानीको गन्तव्य बनाउन आग्रह गरेको छु। सरकारले यसका लागि आवश्यक कानुनी तथा नीतिगत आधार तयार गर्न प्रतिबद्ध छ। सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन विभिन्न आर्थिक कार्यक्रमहरू अगाडि सारेको छ। तर यसका लागि व्यवसाय र समाज सबै सरोकारवालाहरू जिम्मेवार बन्नुपर्दछ’ उनले भने ।

राष्ट्रिय व्यावसायिक पहलले निरन्तर रूपमा गर्दै आएको जिम्मेवार व्यवसाय सम्मेलनको चौथो संस्करणमा सहभागी हुने अवसर दिनुभएकोमा धन्यवाद व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले कार्यक्रममार्फत समाज, वातावरण र अर्थतन्त्र जस्ता जल्दो बल्दो विषयमा विश्वमा भइरहेका नवीनतम सुधार र प्रयासमा हुने वृहत् छलफल र अन्तरक्रियाबाट मुलुकले अवलम्बन गर्नुपर्ने आगामी कार्यदिशा तय गर्न सहयोग पुग्ने विश्वास समेत उनले व्यक्त गरे।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका