जोडिनुहोस
  • होमपेज
  • राष्ट्रपति रनिङ शिल्डः विश्व निकेतन मावि बन्यो १२ स्वर्णसहित च्याम्पियन

राष्ट्रपति रनिङ शिल्डः विश्व निकेतन मावि बन्यो १२ स्वर्णसहित च्याम्पियन

काठमाडौँ – १२ स्वर्ण पदकसहित विश्व निकेतन माध्यमिक विद्यालयले तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गरेको छ । पुस १७ गते सुरु भएको प्रतियोगिताका विभिन्न खेलमा विद्यालयले स्वर्णसहित २ रजत र २ कास्य गरी १६ पदक प्राप्त गरेको छ ।

आज पदमकन्या माध्यमिक विद्यालय डिल्लीबजारमा शिक्षा विभागले आयोजना गरेको पुरस्कार वितरण तथा समापन कार्यक्रममा महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल, सामाजिक समितिका संयोजक रामकुमार केसी, निमित्त प्रमुख प्रशासकीय अधिकृत एवं शिक्षा अधिकारी सीताराम कोइरालाले पदक र शिल्डसहित विद्यालयलाई नगद ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरे ।

गएको वर्ष शिल्ड प्राप्त गर्ने बिजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालयलाई शिल्डको रेप्लिका प्रदान गरिएको थियो ।

प्रतियोगितामा ६ स्वर्ण, ३ रजत र ४ कास्य पदक प्राप्त गर्ने पद्मकन्या माध्यमिक विद्यालय डिल्लीबजार दोस्रो र ५ स्वर्ण, १३ रजत र ५ कास्य पदक प्राप्त गर्ने बिजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालयले तेस्रो स्थान हासिल गरेका छन् । दोस्रो र तेस्रो स्थान हासिल गर्ने विद्यालयहरूलाई क्रमशः ४० हजार रुपैयाँ र ३० हजार रुपैयाँसहित पुरस्कृत गरियो । ५ स्वर्ण, १ रजत र १ कास्य पदक हासिल गर्ने ज्ञानोदय माध्यमिक विद्यालयले सान्त्वना स्थान हासिल गरेको छ ।

कार्यक्रममा बोल्दै उपप्रमुख डंगोलले खेलमा सहभागी सबै खेलाडीले कुनै न कुनै रूपमा खेल जितेको बताउँदै खेलमा सफल हुनेहरू व्यवहार र आचरणमा असल हुन सुझाव दिइन् । त्यस्तै सामाजिक समितिका संयोजक केसीले महानगर स्तरमा जितेका खेलाडीहरूले जिल्ला स्तरमा हुने प्रतिस्पर्धामा पनि उत्कृष्ट नतिजा ल्याउनेमा विश्वास व्यक्त गरे ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत एवं शिक्षा अधिकारी कोइरालाले खेलमा सहभागी कोही पनि विद्यार्थीले नहारेको बताए । खेलबाट जागृत भएको आत्मविश्वासले आउँदा दिनका प्रतिस्पर्धामा आफूलाई अझ बलियो बनाउन सकिने उनको भनाइ थियो ।

प्रतियोगितामा छात्रा भलिबलतर्फ वडा नं. ६ मा रहेको जनकल्याण माध्यमिक विद्यालयले पहिलो स्थान हासिल गरेको छ । कन्या माध्यमिक विद्यालय, न्होखामा बिहीबार फाइनल खेल भएको थियो । खेलमा विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालयले दोस्रो र कन्या मन्दिर माध्यमिक विद्यालय न्होखाले तेस्रो स्थान हासिल गरे । यस्तै गीताञ्जली कलेजले सान्त्वना स्थान हासिल गरेको छ ।

पुरुष भलिबल खेलको अन्तिम प्रतिस्पर्धा आज भएको थियो । खेलमा न्युटन चिल्ड्रेन एकेडेमी, बालुवाटारले प्रथम, शान्ति शिक्षा मन्दिर, ठँहिटीले दोस्रो र विजय स्मारक माध्यमिक विद्यालय डिल्लीबजारले तेस्रो स्थान हासिल गरे ।

हिजो सकिएको कबड्डी खेलमा छात्रतर्फ नासा इन्टरनेशनल कलेज पहिलो भएको छ । भानु माध्यमिक विद्यालयले दोस्रो स्थान हासिल गर्यो । एक्स्पोडेल पब्लिक स्कुल र शान्ति विद्या मा. वि. गरी २ वटा विद्यालयले तेस्रो स्थान हासिल गरे ।

कबड्डी छात्रातर्फ पद्मकन्या माध्यमिक विद्यालयले प्रथम, बिजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालयले दोस्रो स्थान हासिल गरे । त्यस्तै कन्या मन्दिर माध्यमिक विद्यालय र कोटदेवी माध्यमिक विद्यालयले तेस्रो स्थान हासिल गरेका छन् ।

महानगर स्तरीय खेलबाट जिल्ला स्तरीय खेलका लागि १०१ जना खेलाडी छानिएका छन् । शिक्षा अधिकृत इन्द्रप्रसाद दाहालले जानकारी दिए । दाहालका अनुसार भलिबल छात्रतर्फ २० जना, छात्रातर्फ २० जना, एथलेटिक्समा २८ जना, तेक्वान्दो, उसु र कराँतेमा १२र१२ जना खेलाडी छानिएका हुन् । यसरी छानिएका विद्यार्थीहरूलाई जिल्ला स्तरीय प्रतिस्पर्धा हुनु एक साता अगाडि प्रशिक्षण प्रदान गरिने कार्यक्रम रहेको दाहालको भनाइ छ ।

पुस १७ गते दशरथ रङ्गशालामा राष्ट्रपति रामचन्द्र पौडेलले खेलको उद्घाटन गरेका थिए । यस सत्रमा नेपाल प्रहरीको ब्याण्ड, महानगर प्रहरी बल र करिब ५० वटा विद्यालयका विद्यार्थीहरूले मार्चपास गरेका थिए । यस्तै संस्कृत माध्यमिक विद्यालयका १२१ जना विद्यार्थीले स्वस्ति वाचन गरेका थिए । उद्घाटन समारोहमा शिक्षक, विद्यार्थीसहित करिब १५ व्यक्तिको उपस्थिति रहेको थियो ।

त्यसपछि सुरु गरिएको खेलमा एथलेटिक्सतर्फ (त्रिपल जम्प, विभिन्न दुरीका दौडसहित) का खेल, उसु र कराँते दशरथ रङ्गशालामा भए । तेक्वान्दो खेल तेक्वान्दो प्रशिक्षणालय सातदोबाटोमा भयो । कन्या मन्दिर माध्यमिक विद्यालय, न्योखा, क्षेत्रपाटीमा छात्रछात्रा कबड्डी र छात्रा भलिबल खेल भए । कन्या विद्याश्रम मा. वि. डिल्लीबजारमा पुरुष भलिबल खेल भयो ।

खेलमा ३ हजार २५० जना छात्रछात्रा खेलाडीले प्रतिस्पर्धा गरेका थिए । जसमा भलिबल खेलमा ८ सय जना, कबड्डी खेलमा ८ सय जना, तेक्वान्दो खेलमा ३ सय जना, कराँतेमा ३ सय जना, उसुमा १ सय जना, एथलेटिक्समा १ हजार २५० जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

खेलका दौरानमा महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ९बालेन०, उपप्रमुख सुनिता डंगोलले प्रोत्साहन गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका