जोडिनुहोस
  • होमपेज
  • शहीद गंगालाल श्रेष्ठ र दशरथ चन्दले अमरत्व प्राप्त गरेको स्थानमा स्मृति सभा

शहीद गंगालाल श्रेष्ठ र दशरथ चन्दले अमरत्व प्राप्त गरेको स्थानमा स्मृति सभा

शहीद गंगालाल श्रेष्ठ र दशरथ चन्दले अमरत्व प्राप्त गर्नुभएको स्थान विष्णुमती नदी किनारा शोभा भगवतीमा स्मृति सभा सम्पन्न भएको छ । सप्ताहव्यापी कार्यक्रमअन्तर्गत शहीद सप्ताह मूल समारोह समितिले सभा आयोजना गरेको हो ।

हुकुमी शासनको विरुद्धमा काम गरेको र जनतालाई प्रजातन्त्रका लागि उक्साएको आरोपमा १९९७ साल माघ १५ गते दशरथ चन्द र गंगालाल श्रेष्ठलाई विष्णुमती नदी किनारा शोभा भगवती क्षेत्रमा मृत्युदण्ड दिइएको थियो । बैतडीमा जन्मिनुभएका दशरथ चन्दले, भारतमा महात्मा गान्धीले शुरु गर्नुभएको सत्याग्रहमा पनि सक्रियतापूर्वक भाग लिनुभएको थियो ।

त्यस्तै रामेछापको भंगेरीमा जन्मिनुभएका गंगालाल श्रेष्ठ त्रिचन्द्र कलेज पढ्दै गर्दा राणा शासन विरोधी आन्दोलनमा लाग्नुभएको थियो । इन्द्रचोकमा भएको नेपालको पहिलो राजनीतिक सभामा श्रेष्ठले स्वतन्त्रताका पक्षमा भाषण गर्नुभएको थियो । श्रेष्ठ र चन्दलाई ज्यानदण्ड दिइएको स्थानमा स्तम्भ, अर्धकदको शालिक र पूर्ण कदका शालिक राखिएका छन् ।

महानगरपालिकाले २०७६ सालमा दुवै शहीदको पूर्ण कदका शालिक राखेको हो । यस वर्ष माघ १० अर्थात पहिलो दिन शुक्रराज शास्त्रीले सहादत प्राप्त गर्नुभएको स्थान, टेकु मचलीमा, १३ गते धर्मभक्त माथेमालाई मृत्युदण्ड दिएको स्थान सिफलमा स्थापना गरिएको सालिकमा पुष्पगुच्छा अर्पण तथा स्मृति सभा गरिएको थियो ।

शहीद दिवसको अन्तिम दिन भोलि बिहान ८ बजे शान्तिबाटिकाबाट प्रभातफेरी हुनेछ । ९ बजे शहीद स्मारक लैनचौर स्मृति सभा हुनेछ । सभामा प्रधानमन्त्रीसहित उच्च पदस्थ अधिकारीहरु आउने कार्यक्रम छ । भोलि नै वडा नम्बर २३ ले ओमबहालमा रहेको धर्मभक्त माथेमा पार्कमा स्मृति सभा गर्ने कार्यक्रम तय गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका