जोडिनुहोस
  • होमपेज
  • ठाउँठाउँमा दूध पोखेर र राजमार्ग बन्द गराएर किसानहरू आन्दोलनमा

ठाउँठाउँमा दूध पोखेर र राजमार्ग बन्द गराएर किसानहरू आन्दोलनमा

दूधको भुक्तानी नपाएको भन्दै देशभरका किसानले आन्दोलन चर्काएका छन् । आज नवलपरासी, मकवानपुरलगायतका जिल्लाका किसानहरूले सडकमै दूध पोखेर विरोध गरेका हुन् ।

नवलपरासी पूर्वका किसानहरूले पूर्व–पश्चिम राजमार्गको कावासोतीमा दूध पोखेर विरोध गरेका छन् । किसानहरूको प्रदर्शनका कारण केहीबेर राजमार्ग पनि बन्द भएको थियो । किसानहरूले मिल्क होलिडेु अर्थात् दूध बिक्री नहुने समस्याको अन्त्य हुनपर्ने र दूधको मूल्य र बिक्रीको जिम्मा सरकारले लिनुपर्ने लगायतका माग गरेका छन् ।

यस्तै उद्योगलाई बेचेको दूधको पैसा नपाएपछि मकवानपुरका दुग्ध किसानले पनि विरोध प्रदर्शन गरेका छन् । जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ मकवानपुरको अगुवाइमा विभिन्न ठाउँबाट हेटौँडा पुगेका किसानहरूले केहीबेर सडक बन्द गरेर प्रदर्शन गरेका हुन् । सरकारी तथा निजी क्षेत्रका दुग्ध उद्योगले किसानबाट किनेको दूधको रकम दिएका छैनन् । जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष हरिप्रसाद कँडेलले मकवानपुरमा मात्रै ६० करोड रुपैयाँ पाउन बाँकी रहेको बताउनुभयो ।

यस्तै काभ्रेमा पनि किसानहरूले अरनिको राजमार्ग बन्द गरेर केहीबेर प्रदर्शन गरेका छन् । अन्यत्र दुध पोखे पनि काभ्रेमा भने किसानले बटुवालाई दूध खुवाएर विरोध गरेका छन् । दूध बिक्री नभएको र बिक्री भएको दूधको पनि भुक्तानी नपाएको भन्दै देशैभरका किसान आन्दोलनमा छन् ।

दूध तथा दुग्ध पदार्थको मौज्दात बढेपछि सरकारले दूध तथा दुग्ध पदार्थ आयातमा रोकसमेत लगाएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागलाई पत्र पठाएर अर्को निर्णय नभएसम्म आयात परमिट जारी नगर्न भनेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका