जोडिनुहोस
  • होमपेज
  • खडेरीपछिको वर्षाले किसानलाई राहत

खडेरीपछिको वर्षाले किसानलाई राहत

काठमाडौं । धान र कोदो रोप्ने समयमा लामो खडेरी परेपछि निराश बनेका किसान दुई दिन यताको वर्षाले खुसी छन् । बागलुङमा शुक्रबारदेखि सामान्यदेखि मध्यम खालको वर्षा भइरहेको छ ।

वर्षासँगै किसानले बेसी खेतमा रोपाइँ थालेका छन् भने बारीमा कोदो रोप्न सुरु भएको छ । बागलुङका उच्च पहाडी क्षेत्रमा ढिलो कोदो रोपाइँ हुने गरेको भए पनि समथर बेँसी क्षेत्रमा जेठको दोस्रो सातादेखि कोदो रोपाइँ सुरु हुने गरेको छ ।

“यही जेठको १५ देखि कोदो र असारको १५ देखि धान रोप्न सुरु गर्ने परम्परा जस्तै थियो तर पछिल्ला केही वर्ष खडेरीका कारण तलमाथि हुन्छ”, जैमिनी नगरपालिका–१ कुश्मिशेराका किसान गुरुप्रसाद शर्माले भने , “यस वर्ष खडेरीले सुक्न थालेको कोदोको बीउले वर्षापछि सास फेरेको छ, अब रोपाइँ हुन्छ ।”

खडेरीले बागलुङमा उत्पादनको हिसाबले पहिलो खाद्यान्न बाली मकैमा क्षति पुगेको छ । यहाँ २० हजार सात सय हेक्टर जमिनमा मकै लगाउने गरिएको छ । शुक्रबारदेखि वर्षा भए पनि जिल्लाभर वर्षा भएको छैन । छिटफुट ठाउँमा अझै वर्षा नभएकाले मकैबाली सुक्न थालेको कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले बताए ।

खण्डवृष्टि भएको छ, पानी परेको क्षेत्रमा किसान खुसी छन्, केही ठाउँमा अझै पानी नपरेकाले बाली सुक्न थालेको छ”, भट्टराईले भने , “अन्य जिल्लामा जस्तो प्रभाव नपरेको भए पनि उत्पादनमा भने खडेरीले कमी ल्याउने निश्चित छ ।” जिल्लामा सबैभन्दा धेरै खडेरीको प्रभाव अलैँची खेतीमा परेको छ । किसानले पाखो बारीमा लगाएको अलैँची खडेरीका कारण सुक्ने, डडुवा रोग लाग्ने लगायतका समस्या देखिएको उनले बताए। एक सय हेक्टर जमिनको अलैँची खडेरीले कामै नलाग्ने भएको छ ।

खडेरीका कारण सुक्न थालेका खाद्यान्न बालीमा वर्षा भएपछि राहत मिलेको छ । घोगा लागेका मकै तथा मुखैमा धानचामल निकालेको मकैबाली लामो समयको खडेरीका कारण सुक्न थालेका थिए भने धानको ब्याड तथा कोदोको बीउसमेत सुक्न थालेको थियो । खडेरीका कारण ओइलिएका खाद्यान्न तथा मकैबाली वर्षापछि हरियो देखिएका छन् । खडेरी पछिको वर्षाले यात्रामा समेत राहत मिलेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका