जोडिनुहोस
  • होमपेज
  • वर्णशङ्कर मकैका जातमा दाना नलागेको गुनासो, प्रभावित क्षेत्रमा स्थलगत अनुगमनका लागि कार्यदल गठन

वर्णशङ्कर मकैका जातमा दाना नलागेको गुनासो, प्रभावित क्षेत्रमा स्थलगत अनुगमनका लागि कार्यदल गठन

सर्लाही, बारा, रौतहट, रुपन्देहीलगायतका जिल्लामा वर्णशङ्कर मकैका जातमा दाना नलागेको किसानको गुनासो आउने क्रम बढेको छ । यसअघि सर्लाहीको बाग्मती, बरहथवालगायत क्षेत्रका किसानले उन्नत जातको मकैमा दाना नलागेको गुनासो गरेका थिए । तर यसै हप्ता मधेश प्रदेश तथा लुम्बिनीको रुपन्देहीका केही किसानले पनि मकैको घोगामा दाना नलागेको गुनासो गरेका छन् ।

किसानको गुनासोपछि बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्रले प्रभावित क्षेत्रमा स्थलगत अनुगमन गरी प्रतिवेदन पेश गर्न कार्यदल गठन गरेको छ । राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुर चितवनका वरिष्ठ वैज्ञानिक डा. भीमनाथ अधिकारीको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन भएको बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्रका प्रमुख बेनुप्रसाद प्रसाईंले उज्यालोलाई जानकारी दिनुभयो ।

डा. अधिकारी संयोजक रहेको कार्यदलको सदस्यमा मकैबाली अनुसन्धान कार्यक्रम रामपुरका वैज्ञानिक डा. महेन्द्रप्रसाद त्रिपाठी, राष्ट्रिय बाली प्रजनन केन्द्र खुमलटारका डा. उज्जवलकुमार सिंह कुशहवा, बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका बाली विकास अधिकृत नवराज जोशी, मधेश प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रतिनिधि, कृषि ज्ञान केन्द्रका प्रतिनिधि रहेका छन् । त्यस्तै बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्रका डा. प्रकाश आचार्य सदस्य सचिव रहनुभएको छ । कार्यदललाई प्रभावित क्षेत्रमा निरीक्षण एवम् छलफल गर्ने, मकैको जात, क्षेत्रफल, प्रभावित किसानको विवरण, बिउ बिक्रेता तथा आयातकर्ताको विवरण सङ्कलन गर्ने, प्राविधिक राय पेस गर्ने, बिउको जातीय शुद्धता पहिचान गर्ने कार्य जिम्मेवारी दिइएको छ ।

किसानले वर्षमा दुई पटक उन्नत जातको मकै रोप्ने गरेका छन् । अहिले गुनासो गर्ने र उत्पादन लिन नसकेका सर्लाहीका धेरैजसो किसानले भारतीय बिउ उत्पादन कम्पनी नुजिभिडु सिड्सले उत्पादन गरेको ‘विनर’ नामको मकैको बिउ लगाएको बताएका थिए । तर बिउ उत्पादक कम्पनीले मौसम अनुकूल नभएका कारण मकैमा दाना नलागेको दाबी गर्दै आएको छ । नुजिभिडु सिड्सका नेपाल प्रतिनिधि श्रीप्रसाद पालिखेलले किसानले समयअघि नै मकै रोपेका कारण समस्या भएको दाबी गर्नुभएको छ । मङ्सिर पहिलो हप्तादेखि रोप्नुपर्ने मकै कात्तिकमै रोपिएको बिउ उत्पादक कम्पनीका नेपाल प्रतिनिधिको दाबी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका